२ जेष्ठ, काठमाण्डौँ । गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुईजना संक्रमित भागेपछि पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने निर्णय भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बिहीबार सम्पन्न संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार सुरक्षाकर्मीलाई दिएको हो ।
गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुईजना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए । प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो ।
निर्णयको बुँदा नं ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिने आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने ।’
प्रमुख जिला अधिकारी विष्णुकुमार कार्की अध्यक्ष रहेको सीसीएमसीले गरेको निर्णयमा नारायणी अस्पताल वीरगञ्ज पर्साका डा. मदन उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, पर्साको चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, एसपी गंगा पन्त, सशस्त्र प्रहरीका एसपी दिपेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक कुमार खड्का र विशेष आमन्त्रित वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको हस्ताक्षर छ ।
संक्रमित भाग्न नदिन सुरक्षा शतर्कता बनाइएको छ । संक्रमण फैलन नदिन सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।