
इलाम । राजनीतिमा सक्रिय भएर जनप्रतिनिधि र पार्टीको जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरूले समय अभावका कारण व्यवसाय गर्न सकिँदैन भन्ने आम बुझाइलाई चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूले व्यवहारमै गलत साबित गरेका छन् । उनी र उनकी श्रीमती माइती लिम्बू विगत सात वर्षदेखि ड्रागन फ्रुट खेतीमा सक्रिय छन् । समाजसेवासंगै लिम्बू अहिले नेकपा एमालेको वडा न २ कमिटी अध्यक्षको जिम्मेवारी लिएर कृषि उद्यमलाई समानान्तर रूपमा अघि बढाउँदै आएका छन् ।
हामी उनीहरूको फार्म पुग्दा दुवै जना ड्रागन फ्रुट बगैंचाभित्र घाँस काट्ने काममा व्यस्त थिए । राजनीतिक र सामाजिक जिम्मेवारीका बीच पनि खेतीलाई निरन्तरता दिँदै आएका उनीहरूका अनुसार सफल उद्यमका लागि ठूलो लगानीभन्दा पनि दृढ इच्छाशक्ति र मेहनत आवश्यक हुन्छ ।
माइतराज लिम्बूले हाल ७ कठ्ठा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गरिरहेका छन् । खेतीप्रतिको बढ्दो उत्साहका कारण दुई वर्षअघि थप ४ कठ्ठा क्षेत्रफलमा नयाँ बिरुवा समेत रोपेका छन् । यससँगै निकट भविष्यमा उत्पादन अझ बढ्ने उनको विश्वास छ।
“राजनीति र समाजसेवामा जति व्यस्त भए पनि बिहान–बेलुका समय निकालेर बगैंचाको हेरचाह गर्छौं,” लिम्बू भन्छन्, “उद्यमले आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग गर्छ, त्यसैले कामप्रति रुचि भए समय निकाल्न सकिन्छब।”
उनकी श्रीमती माइती लिम्बू पनि खेतीको प्रत्येक चरणमा उत्तिकै सक्रिय छिन् । बगैंचाको सरसफाइ, घाँस काट्ने, मल व्यवस्थापन, फल टिप्ने र बिक्रीसम्मका काम उनीहरू दुवैले मिलेर गर्छन् ।

हाल उनीहरूले उत्पादन भएको ड्रागन फ्रुट बगैंचाबाटै प्रतिकेजी ३५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । क्षेत्रफल धेरै ठूलो नभए पनि वार्षिक करिब ८० केजीसम्म ड्रागन फ्रुट बिक्री हुने गरेको लिम्बूले बताए । स्थानीय उपभोक्ताबाट राम्रो माग रहेकाले बजारको समस्या नभएको उनको भनाइ छ ।
ड्रागन फ्रुट स्वास्थ्यका लागि लाभदायक फलका रूपमा परिचित हुँदै गएपछि पछिल्ला वर्षहरूमा यसको माग पनि बढ्दै गएको छ । यही कारण सीमित क्षेत्रफलमै पनि राम्रो आम्दानी लिन सकिने भएकाले यो खेतीप्रति युवाको आकर्षण बढ्न थालेको कृषि प्राविधिकहरू बताउँछन् ।






सूचना विभाग दर्ता नंः १८२३/०७६-७७