२७ वैशाख, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेकोमा सरकारको धारणा मागेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक नेपालको भूमि हो भन्नेमा आफूहरू प्रष्ट रहेको उल्लेख गर्दै लिपुलेक हुँदै भारतले मानसरोबर जोड्ने सडक उद्घाटन गरेकोबारे सरकारको धारणा मागेका हुन् ।
‘लिपुलेक नेपालको भूमि हो, हामी प्रष्ट छौं,’ ट्वीट गर्दै शर्माले भन्नुभएको छः ‘चीनको मानसरोबर जोड्न भारतले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौं ।’
शर्माले नेपाली भूमिबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घालीन समाधान खोज्न सरकारको दायित्व रहेको पनि स्मरण गराउनुभएको छ ।
भारतले लिपुलेक हुँदै निर्माण गरेको सडक हिजो उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ ।
कोरोनाविरूद्ध लडिरहेको अवस्थामा गरिएको अतिक्रमणविरूद्ध सरकारले तुरून्त कदम चाल्नुपर्ने शर्माको धारणा छ ।
भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।
भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले हिजो ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए । नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ ।
यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो ।