
झापा । कमल गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेको छ। गाउँसभाको अधिवेशनमार्फत आगामी आर्थिक वर्षका लागि विकासमुखी योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार तथा कृषकको उत्पादन र आम्दानी वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने, व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने योजना नीति तथा कार्यक्रममा समेटिएको छ।
पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, नयाँ सडक निर्माण, पुल, खानेपानी, सिँचाइ तथा सार्वजनिक भवन निर्माणलाई निरन्तरता दिइने जनाइएको छ। ग्रामीण क्षेत्रका नागरिकलाई सहज यातायात तथा आधारभूत सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई पनि नीति तथा कार्यक्रमले विशेष महत्व दिएको छ। सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिवृद्धि, विद्यालयको भौतिक पूर्वाधार सुधार, स्वास्थ्य संस्थाको सेवा विस्तार तथा आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने योजना अघि सारिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, आदिवासी–जनजाति तथा विपन्न समुदाय लक्षित सामाजिक विकासका कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ।
युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न सीपमूलक तालिम, उद्यमशीलता विकास तथा साना व्यवसाय प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। साथै, कमल गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकासलाई आर्थिक समृद्धिको आधारका रूपमा अघि बढाइने जनाइएको छ।
वातावरण संरक्षण, सरसफाइ, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् जोखिम व्यवस्थापनलाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउँदै सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा व्यक्त गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत उत्पादन, रोजगारी, पूर्वाधार विकास र सामाजिक सेवाको गुणस्तर सुधारलाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ। जनप्रतिनिधिहरूले प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७