
२५ जेठ, झापा । झापाको दमक नगरपालिका–३ को वडा कार्यालयमा तोडफोड, आगजनी तथा सरकारी सम्पत्ति नष्ट गरेको गम्भीर आरोपमा पक्राउ परेका रबिन गुरुङलाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अदालतको यो आदेशसँगै भुटानी शरणार्थी शिविरका बासिन्दा गुरुङलाई अनुसन्धान र कानुनी प्रक्रियाका लागि भद्रपुर कारागार चलान गरिएको छ।
गत वैशाख ९ गते बिहान वडा कार्यालयमा प्रवेश गरी उनले ७० हजार मूल्यको कम्प्युटर र २० हजार बराबरको स्टिल दराज तोडफोड गर्नुका साथै वडाका महत्त्वपूर्ण सरकारी कागजातहरू आगो लगाएर नष्ट गरेका थिए। दमक नगरपालिकाले दायर गरेको उक्त मुद्दामा अभियुक्त गुरुङले आफूले मादक पदार्थ सेवन (मदिरा) गरेर गल्ती गरेको स्वीकार गरिसकेका छन्।
नगरपालिकाले अदालतमा बलियो प्रमाणका रूपमा पेश गरेको सीसीटीभी फुटेज, भौतिक क्षतिको विवरण र अन्य सबुत प्रमाणहरूको आधारमा अदालतले घटनाको संवेदनशीलतालाई हेर्दै थुनामै राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो।
सरकारी सम्पत्ति र जनताको सेवा केन्द्रमाथि गरिने यस्ता उछृङ्खल र आपराधिक कार्यविरुद्ध कानुनी कारबाही कडा हुनुपर्ने स्थानीयको माग छ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७