आत्मसमीक्षा सहित सुहाङको प्रतिबद्धता: इलामको 'ग्लोबल ब्राण्डिङ' देखी किरात भाषा संरक्षणसम्म

आत्मसमीक्षा सहित सुहाङको प्रतिबद्धता: इलामको ‘ग्लोबल ब्राण्डिङ’ देखी किरात भाषा संरक्षणसम्म

१२ फागुन, इलाम। प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले आफ्नो विस्तृत चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सार्वजनिक जीवनमा बढेका अपेक्षा र विगतका अपूर्णताहरूबारे आत्मसमीक्षा गर्दै उनले अब परिणाममुखी काम, प्रत्यक्ष जनसंवाद र जवाफदेहितालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिबद्धता पत्रमा उनले इलामसहित पूर्वी पहाडको समग्र विकासका लागि भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार, युवालाई रोजगारी, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख छ। “वाचा होइन, कामबाट विश्वास जित्ने” मूल मन्त्रसहित सार्वजनिक गरिएको दस्तावेजले स्थानीय आवश्यकता, सम्भावना र चुनौतीलाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ।

आत्मसमीक्षा र नयाँ प्रतिबद्धता

नेम्बाङले सार्वजनिक जीवनमा जनविश्वासका साथ अघि बढ्दा सबै अपेक्षा पूरा गर्न नसकिएको यथार्थ स्वीकार गरेका छन्। कृषि, रोजगारी, स्वास्थ्य तथा आधारभूत पूर्वाधारका केही समस्या अपेक्षित रूपमा समाधान हुन नसकेको उल्लेख गर्दै उनले त्यसलाई कमजोरी नभई सुधारको अवसरका रूपमा लिएको बताएका छन्।
उनका अनुसार विगतको अनुभवले जनताको समस्या नजिकबाट बुझ्ने र व्यवहारिक समाधान खोज्ने अवसर दिएको छ। अब ती अनुभवका आधारमा प्रत्यक्ष संवाद, परिणाममुखी कार्यशैली र संस्थागत जवाफदेहितालाई प्राथमिकता दिइनेछ।

इलामलाई ग्लोबल ब्राण्ड बनाउने लक्ष

नेम्बाङले इलामलाई “ग्लोबल ब्रान्ड” का रूपमा स्थापित गर्ने प्रतिबद्धता उल्लेख गरेका छन्। उनले इलामको पहिचान बोकेका चिया, कफी, अलैंची, बाँस तथा अन्य कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै आर्थिक समृद्धिको आधार तयार गर्ने योजना अघि सारेका छन्। स्थानीय उत्पादनको गुणस्तर अभिवृद्धि, आधुनिक प्याकेजिङ, प्रशोधन प्रविधि र प्रभावकारी बजारीकरणमार्फत विश्व बजारमा प्रतिस्पर्धी बनाउने उनको लक्ष्य रहेको छ।

घोषणापत्रअनुसार विदेशी व्यवसायी तथा छिमेकी मुलुकका उद्योगीलाई इलाममा आमन्त्रण गरी लगानीको वातावरण सिर्जना गरिनेछ। संघीय राजधानीका उद्योगी व्यवसायीलाई समेत इलाम भ्रमण गराई उद्योग स्थापनाका सम्भावना अध्ययन गरिने उल्लेख गरिएको छ। चिया क्षेत्रलाई विश्वस्तरमा चिनाउन चीनस्थित टी इन्स्टिच्युटमा अवलोकन भ्रमण गराइएको र त्यहाँबाट प्राप्त अनुभवलाई स्थानीय उद्योगमा प्रयोग गरिने जनाइएको छ। यसले इलामको चियालाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

संविधान, राष्ट्रिय एकता र अधिकारको संरक्षण

प्रतिबद्धता पत्रको प्रमुख आधार संविधानको रक्षा, राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको संरक्षण हो। उनले सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायको सम्मान गर्दै राष्ट्रिय एकताको अभिवृद्धिमा बल पुर्‍याउने बताएका छन्।

जनअधिकारको सुनिश्चितता, समावेशी विकास र समान अवसरको विस्तारमार्फत लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।

पूर्वाधार विकासमा तीव्रता

इलामको दीर्घकालीन विकासका लागि सडक, पुल, शिक्षा तथा स्वास्थ्य संरचना निर्माणलाई विशेष प्राथमिकता दिइएको छ।

-केचना–कञ्चनजंघा करिडोर सडकलाई राष्ट्रिय राजमार्गका रूपमा विकास गर्ने पहल गरिने।

-मेची राजमार्गलाई स्तरोन्नति गर्दै सुरक्षित र दु्रुत यातायात सुनिश्चित गरिने।

-निर्माणाधीन, अपूरा तथा अलपत्र योजनाहरू समयमै सम्पन्न गरिने।

ग्रामीण सडक सञ्जाल विस्तार तथा पुल निर्माणमा तीव्रता दिइने।
यसका साथै, भौतिक पूर्वाधार विस्तारसँगै पारदर्शिता, गुणस्तर र समयसीमालाई कडाइका साथ पालना गरिने जनाइएको छ।

कृषि आधुनिकीकरण र बजार विस्तार

इलाम चिया, कफी र दुग्ध उत्पादनका लागि परिचित जिल्ला हो। प्रतिबद्धता पत्रमा कृषि क्षेत्रलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने स्पष्ट योजना प्रस्तुत गरिएको छ।

-चिया, कफी, दुग्ध पदार्थ तथा जडीबुटीको उत्पादन वृद्धि र प्रशोधन उद्योग स्थापना।

-आधुनिक प्रविधिको प्रयोग र बजारीकरणमा विशेष पहल।
करार खेती र स्टार्टअप कृषि अवधारणाको प्रवर्द्धन।

-कृषकलाई सहुलियत ऋण, अनुदान र प्रविधि उपलब्ध गराउने व्यवस्था।

-गुणस्तरीय वस्तुको निर्यात प्रवर्द्धन।

नेम्बाङले “बिउदेखि बजारसम्म” को अवधारणा लागू गर्दै उत्पादन, प्रशोधन र बजारलाई एकीकृत प्रणालीमा जोड्ने लक्ष्य राखेका छन्।

उद्योग, उद्यमशीलता र रोजगारी

स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।

-युवालाई स्टार्टअप कार्यक्रममार्फत व्यवसाय सुरु गर्न प्रोत्साहन।
साना तथा मझौला उद्योगलाई सहुलियत कर्जा।

-प्राविधिक शिक्षा र सूचना प्रविधि (IT) लाई विशेष जोड।
व्यवसायमैत्री वातावरण र लगानी आकर्षण।

-विद्यालय तथा क्याम्पस तहमा आईटी र रोजगारमुखी विषय अध्यापनको पहल गरिने उल्लेख छ। यसले दक्ष जनशक्ति उत्पादन र स्थानीय रोजगारी वृद्धि गर्ने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धनको दीर्घकालीन योजना

इलामलाई कला, साहित्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रतिबद्धता पत्रमा समेटिएको छ।

-पर्यापर्यटन, खेल पर्यटन, चिया पर्यटन, साहसिक पर्यटन र कृषि पर्यटन प्रवर्द्धन।

-पर्यटकीय गन्तव्यहरूको पहिचान र पूर्वाधार विकास।
सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन।

-यसले स्थानीय रोजगारी र आम्दानी वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

शिक्षा र स्वास्थ्य सुधार

शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधारभूत प्राथमिकता दिँदै निम्न योजना अघि सारिएको छः

-विद्यालय भवन, स्वास्थ्य चौकी र सार्वजनिक संरचनाको स्तरोन्नति।

-निजामती कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीका समस्यामा विशेष पहल।

-गुणस्तरीय सेवा प्रवाह र पहुँच विस्तार।

विपद्बाट क्षति पुगेका घर, विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्राथमिकता दिइने उल्लेख छ।

वातावरण संरक्षण र विपद् व्यवस्थापन

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, सामुदायिक वन व्यवस्थापन, फोहोर व्यवस्थापन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

हात्ती, बाँदर, मृग लगायत वन्यजन्तुबाट हुने क्षति कम गर्न समन्वित योजना बनाइने जनाइएको छ।

सामाजिक सद्भाव र सांस्कृतिक संरक्षण

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको सम्मानमा जोड दिइएको छ। किराँत भाषा र मातृभाषाको संरक्षण तथा विकासमा विशेष पहल गरिने उल्लेख छ।

खेलकुद, संगीत, कला, साहित्य र सिनेमाजस्ता क्षेत्रलाई क्रमशः व्यावसायिक बनाउँदै युवाको प्रतिभा विकास गरिनेछ।

सुशासन र पारदर्शिता

प्रतिबद्धता पत्रमा सुशासनलाई मूल आधार मानिएको छ।

-पारदर्शी प्रशासनिक प्रणाली।

-जनताको गुनासो सुन्ने र समाधान गर्ने संयन्त्र।

-जवाफदेही र परिणाममुखी कार्यशैली।

“वाचा होइन, कामबाट विश्वास” भन्ने नारासहितको सुहाङ नेम्बाङको २०८२ को चुनाबी प्रतिबद्धता पत्र विकास, रोजगारी, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सुशासनमा केन्द्रित देखिन्छ। आत्मसमीक्षासहित सार्वजनिक गरिएको दस्तावेजले स्थानीय आवश्यकता र राष्ट्रिय एजेन्डाबीच सन्तुलन कायम गरेको छ।

अब प्रश्न कार्यान्वयनको हो; घोषणापत्रमा उल्लेखित योजना कति प्रभावकारी रूपमा लागू हुन्छन् भन्नेमा मतदाता र नागरिक समाजको चासो केन्द्रित हुनेछ। तर नेम्बाङले भने जनतासँग प्रत्यक्ष संवाद र परिणाममुखी काममार्फत विश्वास जित्ने अठोट दोहोर्याएका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर