माङसेबुङ गाउँपालिका उपाध्यक्ष नेम्वाङ सहित ४ सय जना एमाले प्रवेश

माङसेबुङ गाउँपालिका उपाध्यक्ष नेम्वाङ सहित ४ सय जना एमाले प्रवेश


६ फागुन, इलाम । इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मंगलबार माङसेबुङ गाउँपालिका–६ चिसोपानी पञ्चमी बजारमा आयोजित एमालेको चुनावी भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनी औपचारिक रूपमा एमालेमा सामेल भएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुहाङ नेम्बाङलगायत नेताहरूले नेम्बाङलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा सहभागी नेताहरूले उनलाई पार्टीको सांगठनिक विस्तार र स्थानीय राजनीतिक सुदृढीकरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एमाले प्रवेशपछि नेम्बाङले एमाले नै राष्ट्रवादी शक्ति भएको दाबी गर्दै राष्ट्रवादी तथा गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए । उनले देशको विकास, स्थायित्व र जनताको हितका लागि एमालेसँग सहकार्य गर्ने उद्देश्यले पार्टी परिवर्तन गरेको बताए ।

नेम्बाङ एमाले प्रवेश गरेसँगै माङसेबुङ गाउँपालिकाको राजनीतिक वातावरण तातेको छ । एमाले समर्थकहरूले पार्टी प्रवेशलाई सकारात्मक रूपमा लिँदै सामाजिक सञ्जालमा स्वागत तथा समर्थन जनाइरहेका छन् ।

यता, तत्कालीन गठबन्धनका समर्थकहरूले भने नेम्बाङले मतदातालाई धोका दिएको आरोप लगाउँदै आलोचना गरिरहेका छन् । केहीले उनलाई उपाध्यक्षमा निर्वाचित गराउनु गल्ती भएको टिप्पणी गरेका छन् ।

 

विनोद नेम्बाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनका तर्फबाट ‘ढल्केको छाता’ चुनाव चिन्ह लिएर गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनले एमालेकी उम्मेदवार सुनिता सुब्बालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी उपाध्यक्ष पदका लागि उम्मेदवार बनेका थिए तर सो निर्वाचनमा एमाले उम्मेदवार सुनिता सुब्बासँग नै पराजित भएका थिए ।

नेम्बाङ नेपाली कांग्रेसको पृष्ठभूमिबाट राजनीति सुरु गरेका नेता हुन् । २०६९ सालमा पहिचानको मुद्दालाई आधार बनाउँदै संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पछि पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी नेपालमा प्रदेश १ को कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

जसपा विभाजनपछि अशोक राई नेतृत्वको समूहमा लागेर प्रदेश मुख्यसचिव बनेका नेम्बाङ पछि केन्द्रीय सदस्यमा मनोनित भएका थिए । तर केन्द्रीय सदस्यको हैसियतमा कुनै बैठकमा सहभागी हुन नपाउँदै उनले जसपा परित्याग गरी एमालेमा प्रवेश गरेको स्रोतले जनाएको छ ।

नेम्बाङसँगै अन्य नेताहरू एमाले प्रवेशः
नेम्बाङसँगै माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राई र माई नगरपालिकाका कार्यपालिका सदस्य करसिंह राई पनि एमाले प्रवेश गरेको एमाले नेताहरूले सार्वजनिक गरेको सूचीमा उल्लेख गरिएको छ । तर उनीहरू पार्टी प्रवेश औपचारीक कार्यक्रममा प्रत्यक्ष रूपमा उपस्थित भएनन् ।

यस्तै, सोही कार्यक्रममा पूर्वमाओवादी नेता पृथीमान जवेगू पनि एमालेमा प्रवेश गरेका छन् । जवेगू यसअघि माओवादी पार्टीको गाउँ समिति अध्यक्ष समेत रहिसकेका नेता हुन् । उनी गत वर्षदेखि राजनीतिक रूपमा निष्क्रिय थिए ।

उनिहरुसंगै विभिन्न राजनितीक दल त्यागेर करिव ४ सय जना नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका थिए । नेकपा एमाले माङसेबुङ गाउँपालिका कमिटीले औपचारीक रुपमा चिसोपानी पंन्चमी बजारमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर