२४ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । भोलिबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की परेको थियो ।
सचिवालय बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका थिए । बीचमा उहाँ बैठक नै छोडेर बाहिरिनुभएके थियो ।
ओलीलाई निकै बेरसम्म नेताहरुले बैठक कक्षमा कुरेका थिए । स्रोतकाअनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओली फर्केर नआएपनि बैठक केही बेर चलेको थियो । र, बैठक अहिले समापन भएको छ ।
भोली बस्ने भनिको नेकपाको स्थाई कमिटीको बैठक सचिवालयका नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको छ । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको जानकारी दिनुभयो ।
नेता श्रेष्ठले स्वास्थ्य र व्यस्तताका कारण प्रधानमन्त्री ओली बैठकमा पूरा समय उपस्थित नभएकोले आजको बैठकमा विस्तृत छलफल हुन नसकेको पनि बताउनुभयो ।
तर, स्रोतका अनुसार, ‘एजेन्डाको विषयमा विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट रिसाएर बाहिरिनु भएको थियो ।’ करिब एक घण्टापछि बैठकमा प्रम ओली फर्किए लगत्तै आजको बैठक सकिएको थियो ।
गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार वैशाख २५ गते भोली ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने समय तय गरिएको थियो । सोही बैठकका लागि आज सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।
यसअघि, वैशाख ८ गते प्रधानमन्त्री ओलीले दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेको थियो । विवादकै क्रममा २० जना स्थायी कमिटी सदस्य अध्यक्षद्वयलाई स्थायी कमिटीको माग गर्दै पत्र बुझाएका थिए । यही पृष्ठभूमिमा नेताहरुबीच बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामासमेत माग भएको थियो । तर, उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेद्वार बनाउने तथा अध्यक्षद्वयले आत्मलोचनासमेत गरेपछि २० गतेको सचिवालय बैठकमा विवाद साम्य हुँदै स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको थियो ।