२१ वैशाख, इलाम । नेपाल कम्युनिट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीले पार्टीको केन्द्रीय नेतृत्वमा पछिल्लो समय उत्पन्न समस्याले सिंगो पार्टी पंक्तिमा नैराश्यता उत्पन्न भएको भन्दै निराश नबनाउन पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।
नेकपा इलाम जिल्ला कार्यालयको आज बसेको बैठकको निर्णय बमोजिम पार्टीका केन्दीय नेतृत्वको ध्यानाकर्षण गराईएको नेकपा इलाम जिल्ला कार्यालय सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकरले बताउनुभयो ।
बैठकपछि जारी जिल्ला अध्यक्ष एवं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगर र सचिव सोममायाँ राई (सिन्धु) द्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा पार्टी नेतृत्वमा देखिएको समस्याले राजनीतिक स्थिरता र पार्टी एकतामाथि नै प्रश्न उठ्ने काम भएका हुँदा नेकपासँग तीन करोड नेपालीको भविष्य जोडिएको नभूल्न नेतृत्वलाई आग्रह गरिएको छ ।
महामारीको समयमा सिंगो देश नै एकजुट भइरहेको बेलामा पार्टीभित्र कलह देखिनु नहुने भन्दै प्रेस वक्तव्यमा भनिएको छः “आम नागरिकको चाहना र भावना अनुसार राजनीतिक स्थितरता कायम गर्दै विकास र समृद्धिमार्फत समाजवादको यात्रामा निरन्तर अघि बढ्न, पार्टी एकताको बाँकी रहेको आंशिक कामहरु सकेर एकतालाई थप सुदृढ बनाउन तथा पार्टी र मुलुकको आन्तरिक जिवनमा हित नहुने किसिमका मुद्धाहरुलाई प्राथमिकता दिएर आम पार्टी पंक्तिमा समस्या सिर्जना नगर्न र नैराश्यता उत्पन्न हुने काम, निर्णय नगर्न पार्टी केन्द्रीय नेतृत्वलाई अनुरोध गर्दछौं ।”
पार्टीको प्रेस वक्तव्यमा हिजो बसेको केन्द्रीय सचिवालयको बैठकको निश्कर्ष र निर्णयलाई हेर्दा तत्काललाई देखिएका अन्तरविरोध हल भएको आभास भएको र यसले नेकपाका लाखौं लाख नेता, कार्यकर्ता एवं शुभेच्छुक, शुभचिन्तकहरुलाई हर्सित तुल्याएको उल्लेख छ ।
“आलोचना, आत्मालोचना कम्युनिष्ट पार्टी संञ्चालनको एउटा महात्वपूर्ण पक्ष हो, यही पक्षलाई टेकेर पार्टी केन्द्रले देखिएको समस्याहरुलाई हल गरेको छ ।” प्रेस वक्तव्यमा भनिएको छ– “पार्टीमा आलोचना, आत्मालोचनाको परिपाटी कमजोर बन्दै गएको सन्दर्भमा सम्पूर्ण पार्टी कमिटीहरु (हामीहरु) ले यसबाट पाठ सिकेर अगाडि बढ्नु पर्द भन्ने संकल्प समेत गर्दछौं ।”




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७