
इलाम । गएको असोज १८ गतेको अविरल वर्षा र बाढीले ठूलो जनधन र भौतिक क्षति बेहोरेको इलाममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफ्नै एक महिनाको तलब जिल्ला स्तरीय राहत कोषमा जम्मा गरेकी छिन् ।
बाढी र पहिरोले प्रभावित इलामलाई पुनर्निर्माणमा सघाउन तथा “गुमेको मुस्कानलाई पुरानै लयमा फर्काउन” योगदान दिने उद्देश्यले उनले उक्त रकम आज (बुधबार) जिल्ला राहत कोषको बैंक खातामा जम्मा गरेकी हुन्।
नेपालले भनिन्, “इलाम अहिले घाइते छ, तर हामी सबैले सकेको सहयोग गरे भने यो घाउ निको पार्न सकिन्छ। मेरो सानो योगदानले केही पीडित परिवारलाई राहत मिलोस् भन्ने चाहना हो।”
गत असोज १८ गते परेको अविरल वर्षा र बाढीका कारण इलाम जिल्लामा ३९ जनाको मृत्यु, १ जना बेपत्ता, केही पुल बगाएका, सयौँ घर ध्वस्त भएका र मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। यसै कारण नेपाल सरकारले इलामलाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल इलाममा उद्धार र राहत कार्य जारी छ। खाद्य सामग्री, बसोबासका लागि टहरा र स्वास्थ्य उपचारका सामग्री वितरण भइरहेका छन्। विभिन्न संघ–संस्था, उद्योगी–व्यवसायी, स्थानीय निकाय र व्यक्तिगत स्तरबाट समेत सहयोग जुट्ने क्रम बढेको छ। प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला प्रशासनको नेतृत्वमा राहत कार्यलाई थप प्रभावकारी बनाउन नागरिक, सामाजिक संस्था र स्थानीय तहबीच समन्वय बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
उनले भनिन्, “सरकारको स्रोत मात्र पर्याप्त हुँदैन। सबै पक्षको हातेमालोले मात्र इलाम फेरि उठ्नेछ।”
यसैबीच, उनका यो कदमलाई स्थानीयवासी र नागरिक समाजले प्रेरणादायी र अनुकरणीय भन्दै प्रशंसा गरेका छन्।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७