कोरोनाको भयः मनोसामाजिक समस्याको जोखिम

कोरोनाको भयः मनोसामाजिक समस्याको जोखिम

२० वैशाख, काठमाण्डौँ । कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाव, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।

कस्ता कस्ता लक्षण देखिन्छन् त ?

मनमा कुरा खेल्नु, झर्काे लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको–पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु, प्रेसर बढनु, शरिरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर र चिन्ता र पिर पर्नु, छटपटि हुनु निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही पो होला कि भन्ने डर लाग्नु, शरीर तातो वा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् । विपति वा असहज अवस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन् ।

यस्ता लक्षणहरु विपति वा संकटको कतिलाई तुरुन्तै देखिन्छन् भने कतिपयलाई केहि दिन पछि मात्र देखिन शुरु हुन्छ । कोही कोहीलाई भने केही महिना वा वर्षपछि अचानक लक्षणहरु देखा पर्न सक्छन् ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्वास्थ्य समस्याः

१. एन्जाईटी–विभिन्न किसिमका डर–चिन्ता जन्य समस्याहरु ।

२. डिप्रेसन–दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।

३. मानसिक आघात–पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।

४. प्यानिक अट्याक–एक्कासि विना कारण उत्पन्न हुने अत्याधिक त्रास ।

५. समायोजनको समस्या–परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था ।

६.अव्सेसिभ कम्पल्सिभ डिसअडर्स–एउटै सोच वा विचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोर्होयाई रहने मानसिक रोग ।

७. जाँड रक्सि, लागू प्रदार्थको लत ।

८. कन्भर्सन डिसअडर्स–डर, त्रास , तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या ।

९. एक्युट स्टेस डिसअडर्स–तत्कालै देखा पर्ने तनाव जन्य समस्या ।

समस्या कसरी कम गर्न सकिन्छ ?

मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोड्दा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले यि लक्षणहरु समय बित्दै जादा हराउदै जान्छन् ।

कतिपय ब्यक्तिमा यस्ता लक्षण कम हुँदै जानुको सट्टा झन झन बढने पनि हुन सक्छ । जसले मनोसामाजिक समस्या वा मानसिक स्वास्थ्य समस्याको जोखिम बढेर जान्छ ।

कोरोनाको संक्रमण बढेको वेला स्वंय व्यक्तिले आफ्नो शारीरिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनको स्याहारसुसारमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । जसलाई ‘स्व हेरचाह’ भनिन्छ ।

आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?

१. करोनाको संक्रमणबाट जोगिन लकडाउनको पुर्ण पालना गर्नुपर्छ । सरसफाइमा विशेष ध्यान दिनु पर्छ । सेल्फ क्वारेन्टाइनमा वस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ । यसले डर, त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मवल बढ्छ ।

२. फुर्सदको बेला मानसिक तनाब नहोस भनेर समय व्यवस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ । आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ । यसो गर्नाले मनमा कोरोना सम्वन्धि नकारात्मक कुरा खेल्न पाउदैन । नत्र जति वेला पनि कोरोनातिर ध्यान गई त्रास बढ्न सक्छ ।

३. कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने, चाहिने भन्दा बढि जानकारी लिन खोज्ने, समचार पटक–पटक हेरि रहने जस्ता व्यवहार गर्नु हुदैन ।

४. सामाजिक सञ्जाल, इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय विताउ सकिन्छ । परिवारसँग कुराकानी गर्ने, खेल खेल्न, किताब पढ्ने, लेख्ने, मनोरञ्जन गर्ने, रमाईला र ज्ञानवद्र्धक चलचित्र हेर्न गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।

५. तनाव कम गर्न शारीरिक व्यायम, योग, ध्यान, श्वास प्रस्वासको व्यायम, ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत र्पुयाउछ । तनावको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।

६. तनावको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ । जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाव बढाउछ ।

मनोवैज्ञानिक सहयोग जरुरीः

रोगको संक्रमणले परिवारका सदस्यहरु गुमाउनु पर्दा, आफुलाई नै संक्रमण देखिँदा वा संक्रमणको आशंका हुदाँ, मनमा दुःख, पिडा तथा भावनात्मक चोट पुग्छ नै साथै यसलाई सहन कतिपय अवस्थामा कठिन हुनसक्छ । रोगको प्रकोपले प्रभावित व्यक्तिहरुको मनोवल धेरै कम भएको हुनसक्छ ।

यस्तो अवस्थामा भावनात्मक सहयोगको जरुरत पर्छ । भावनात्मक सहयोगले अशान्त मनलाई शान्त बनाउन मदत गर्छ । समस्यालाई बढ्न र बिग्रन दिदैन । आधारभूत आवश्यकता परिपूर्ति गर्न मदत गर्नु, उपचारको लागि मदत गर्नु, रोकोनाको संक्रमणबाट बच्ने सुरक्षाका उपाय अपनाउन सिकाउनु जस्ता व्यवहारिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।

विपतिको बेला ब्यक्तिको मनमा देखा पर्ने त्रास, भय, छटपटि, मानसिक अशान्ति, नैरस्यता र यसको कारण आउन सक्ने व्यवहार जन्य गडवडीलाई व्यवस्थापन गर्ने दिईने सबै प्रकारको व्यवहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।
यसले छोटो समयमा नै स्वास्थ भई आफ्नो काममा फर्कन मद्दत पुग्छ ।

प्रभावितमध्ये कसलाई मानसिक स्वास्थ्य समस्या देखा पर्छ वा कसलाई पर्दैन भनेर थाहा नहुने हुँदा जोखिममा परेका सबैले प्राथमिक मनोबैज्ञानिक सहयोग वा मनोसामाजिक सेवा लिनु राम्रो हुन्छ । यसो गर्दा लक्षणहरु छिट्टै हराउने र मानसिक स्वास्थ्य समस्याको रुपलिन पाउँदैन । परिवारका सदस्य गुमाएका व्यक्तिहरु, संक्रमित, वालवालिका, गर्भवती एवम् सुत्केरी महिला, अपाङ्ग, वृद्धवृद्धा, रोगी र अशक्तमा असर बढी पर्ने भएकोले उनीहरुलाई सामान्य जीवनमा फर्काउन मनोसामाजिक सेवा अरु सामान्य व्यक्तिको तुलनामा झनै बढी आवश्यक पर्छ ।

यस्तो बेलामा बिज्ञको सहयोग लिनुपर्छः

प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ । साथै व्यक्ति पिच्छे कोहि चाडै सामान्य अवस्थामा फर्कन्छन भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न सक्छ । धेरै मानिसहरु ढिलो चाडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा समस्याका लक्षणहरु हराउदैनन् ।

विपतिको बेला देखिने स्वाभाविक लक्षणहरु कम नभएमा वा वढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लाँगू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, विभत्स घटनाको यादले झस्काइरहेमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।

 

नोटः लकडाउको अवधिभरि फोन मार्फत निःशुल्क मनोपरामर्शको सेवा व्यवस्था ‘मार्क नेपाल’ले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

 

लेखकः मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर