सांसद बन्न लेखजंगको हुटहुटी- पहिले नाउपाको समानुपातिक उम्मेदवार, अहिले रास्वपाबाट प्रत्यक्ष

सांसद बन्न लेखजंगको हुटहुटी- पहिले नाउपाको समानुपातिक उम्मेदवार, अहिले रास्वपाबाट प्रत्यक्ष

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ । उनलाई नाउपाले समानुपातिकको बन्दसुचीमा राखेको थियो ।

२०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सुचीमा रहेका थिए । उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो । रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर ढल्किएका हुन् ।

थापाले चार महिना अगाडि पार्टीबाट राजीनामा दिँदै आफूलाई बन्द सुचीबाट हटाउन आग्रह गरे । अध्यक्ष रञ्जिता श्रेष्ठले राजीनामा स्वीकृत गरिन् र नाउपाले निर्वाचन आयोगमा पत्राचार गर्यो । आयोगले गत २१ साउनमा मात्रै थापालाई बन्द सूचीबाट हटाइएको लिखित जानकारी गराएको छ ।

वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।

उनी काठमाडौंको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा आएर बिरामीको सेवा गर्दै आएका छन् ।

साथै, हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा स्वास्थ्य सेवा दिँदै आएका थापाले यहाँका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोषसमेत स्थापना गरेका छन् ।

समाज परिवर्तनको हुटहुटी बोकेका र रोगको उपचारमा तल्लीन डा. थापा अब देशको उपचार गर्ने बाटोतर्फ अग्रसर भएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएको बताउँछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर