काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ । उनलाई नाउपाले समानुपातिकको बन्दसुचीमा राखेको थियो ।
थापाले चार महिना अगाडि पार्टीबाट राजीनामा दिँदै आफूलाई बन्द सुचीबाट हटाउन आग्रह गरे । अध्यक्ष रञ्जिता श्रेष्ठले राजीनामा स्वीकृत गरिन् र नाउपाले निर्वाचन आयोगमा पत्राचार गर्यो । आयोगले गत २१ साउनमा मात्रै थापालाई बन्द सूचीबाट हटाइएको लिखित जानकारी गराएको छ ।
उनी काठमाडौंको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा आएर बिरामीको सेवा गर्दै आएका छन् ।
साथै, हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा स्वास्थ्य सेवा दिँदै आएका थापाले यहाँका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोषसमेत स्थापना गरेका छन् ।
समाज परिवर्तनको हुटहुटी बोकेका र रोगको उपचारमा तल्लीन डा. थापा अब देशको उपचार गर्ने बाटोतर्फ अग्रसर भएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएको बताउँछन् ।