१८ वैशाख, काठमाडौँ । समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा आज उजुरी दिएका छन् । आयोगमा उनको उजुरीको दर्ता नम्बर १७८० हो ।
आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो । सांसद यादवको उजुरीमा आफ्नो जीवनरक्षा र घटनाको निष्पक्ष छानबिन गर्नका माग गरिएको छ ।
बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताउँदै आएका छन् । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।
यसैबीच जनता समाजवादी पार्टीले सरकारी वकिल कार्यालयमा पत्र छाडेर गएको थियो । त्यो दर्ता भएको भएन भनि बुझ्नका लागि जनता समाजवादी पार्टीका तर्फबाट राखिएका वकिलहरु सरकारी वकिल कार्यालय जाने भएका छन् । यस्तै उनीहरुले निवेदन दर्ता गराउन दवाव दिनेछन् ।
यसअघि सांसद यादवसहित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु यादवलाई बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसरको कार्यालय टेकु र सरकारी वकिल कार्यालय बबरमहलमा किटानी जाहेरी दिन गएका थिए । तर, दुवै ठाउँबाट यादवको उजुरी नै दर्ता गर्न मानिएको थिएन । यादवले शक्ति र सत्ताका आडमा ती तीनले आफ्नो ज्यान लिनसक्ने खतरा भएको भन्दै उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही र छानबिनका लागि निवेदन दिएका हुन् ।