१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना लागि तयार रहन आफूनिकट सांसदहरूलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका आफूनिकटका दुई दर्जन बढी सांसदसँग प्रधानमन्त्री ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउने षड्यन्त्रसमेत भइरहेको बताएका थिए ।
‘साथीहरू वार कि पारको अवस्थामा लाग्नुभएको छ । मलाई बर्खास्त गर्ने तयारीमा हुनुहुन्छ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘साथीहरू तोडफोड विध्वंस जे पनि गर्ने योजनामा छन् । त्यस्तो अनिष्ठ परिस्थिति आउनसक्ने मानसिकता बनाइराख्नुस् । उहाँहरूले जे पनि गर्न सक्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीले भाली बस्ने सचिवालयले धेरै कुराको टुंगो लगाउने र त्यस्तो नभए अरु ३÷४ दिन लाग्न सक्नेसमेत बताएका थिए ।
भोली बस्ने भनिएको सचिवालय बैठक भने अनिश्चित भएको छ ।
अर्का सांसद महेश बस्नेतले पार्टीबाहिर भन्दा पनि भित्रैबाट आफूलाई असफल बनाउन खोजिएको गुनासो प्रधानमन्त्रीको रहेको बताए ।
‘मैले धेरै काम गरेको छु। त्यसमा कसैको ध्यान गएको छैन । साथीहरू खाली विरोध मात्रै गर्नुहुन्छ,ु प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद बस्नेतले भने,ुमेरो ७५ प्रतिशत समय त साथीहरूका गुनासो सुन्ने र उनीहरूको चित्त बुझाउँदैमा गयो ।’
प्रदेशमा प्रशिक्षण कार्यक्रममा समेत सरकारको विरोध भएको भन्दै प्रधानमन्त्री ओलीले यसभन्दा अगाडिका प्रधानमन्त्रीहरुले नसोचेको काम गर्दा समेत प्रशंसा नपाएको गुनासो गरेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र थेग्नै नसक्ने विवाद देखा परेको बताएका थिए । जति कोसिस गर्दा पनि विवाद न्यूनीकरण गर्न नसकेको भन्दै सांसदहरूलाई पनि भूमिका खेल्न आग्रह गरेका थिए ।
“पार्टीमा म विरुद्ध षडयन्त्र भइरहेको छ । मलाई हटाउनेसम्मको तयारी बुझेको छु । पार्टी जुनसुकै बेला विभाजनको दिशातिर अघि बढ्न सक्छ, सतर्क रहनू,” भेटमा प्रधानमन्त्रीले भनेको कुरा सांसद विजय सुब्बाले बताए ।
“उहाँहरूको दृष्टिकोणमै नभएको, योजनामै नभएको काम सरकारले गरेको छ । सरकारले असाधारण काम गरेको छ । तर, उहाँहरूले कहिल्यै सरकारले राम्रो काम र्गयो भनेर जस दिनुभएन । विरोधै मात्रै गर्दै आउनुभएको छ । अहिले त बाहिरबाहिर बैठक बसेर मेरा विरुद्ध षड्यन्त्र रच्न थाल्नुभएको छ । यो सबै मैले बुझेको छु । यसले जतिबेलै टुटफुटको बाटोमा र्पुयाउन सक्छ,” छलफलमा प्रधानमन्त्रीले भनेका कुरा सांसद सुब्बाले सुनाए ।
प्रधानमन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमप्रति बढ्ता आक्रोशित थिए । जेभन्दा पनि उनीहरू मान्ने अवस्थामा नरहेको पार्टीलाई विभाजनमै लैजान खोजेको प्रधानमन्त्रीको आरोप थियो ।
प्रधानमन्त्री ओलीले अध्यादेश विरोधको बहाना मात्रै भएको बताएका थिए । “अध्यादेश एउटा आवश्यकताले ल्याइएको थियो । साथीहरूले आपत्ति जनाउनुभयो । अरूले पनि विरोध गर्नुभयो । विवाद मत्थर होला भनेर फिर्ता लिइदिएँ । तर उहाँहरूको योजना अर्कै रहेछ, अहिले देखिँदैछ,” प्रधानमन्त्रीले भेटमा भनेका थिए ।
आफूमात्रै होइन, पार्टी, पार्टी एकता र आन्दोलन नै अप्ठ्यारोमा परेको प्रधानमन्त्रीको बुझाइ रहेको सुब्बाले बताए ।
“म पार्टी फुट्न दिने पक्षमा छैन । पार्टीलाई कमजोर बनाउन दिने पक्षमा पनि छैन तर साथीहरू सबैले थाहा पाउनेगरी लागिराख्नुभएको छ । सबै सतर्क रहनुपर्ने अवस्था आएको छ,” प्रधानमन्त्रीको जोड थियो । सुब्बाका अनुसार छलफलमा पार्र्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिएका लेखराज भट्ट पनि सहभागी थिए । उनले पनि प्रधानमन्त्रीको बचाउ गरेको सुब्बाले बताए ।
उनले ओलीले पाँचवर्ष सरकारको नेतृत्व गर्न जनमत पाएकाले अहिले नै लेखाजोखा गर्ने बेला भइनसकेको पनि बताएका थिए । छलफलमा धादिङका सांसद खेम लोहनी पनि सहभागी थिए ।
ओली निकट सांसदले प्रचण्ड प्रतिक्रियावादीको ‘मतियार’ बनेको आरोप लगाएका छन् । सेक्टर काण्डदेखि पार्टी एकतापूर्वसम्म आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै आएको आरोप लगाउँदै प्रचण्डलाई अहिले पनि पुरानै बानीले पिरोलेको ओली पक्षका सांसदको भनाइ छ ।
उनीहरूले प्रचण्डले पार्र्टी एकतालाई ‘मार्न’ खोजेको पनि आरोप लगाएका छन् ।
प्रचण्डले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने उनीहरूको भनाइ छ । २०७३ सालमा जस्तो सरकार ढाल्ने खेलमा नलाग्न बैठक बसेर समस्या समाधानमा भूमिका खेल्न आज छलफलमा सहभागी एक सांसदले बताए ।