४ साउन, झापा । भद्रपुर भन्सार कार्यालयको कारोबार ठप्प बनेको छ । भारततर्फको गलगलिया भन्सार कार्यालयको प्राविधिक समस्या कारण भद्रपुर भन्सार कार्यालयको यात्रु शाखा बाहेकका सम्पूर्ण कारोबार ठप्प बनेको हो ।
विगत २० दिन देखि कारोबार ठप्प हुँदा करिब दुई करोड रुपैयाँ भन्दा बढी राजस्व गुमेको भन्सार प्रमुख अर्जुनकुमार सिटौलाले जानकारी दिनुभयो । गलगलिया भन्सारले अनलाइन सफ्टवेयर प्रणाली जडान गर्दै भन्सार हाउस एजेन्ट (सीएचए) अनिवार्य लागू गरेपछि त्यसको असर भद्रपुर भन्सारमा परेको भन्सार प्रमुख सिटौलाले बताउनुभयो । पहिला अफलाइनबाटै काम भइरहेको गलगलिया भन्सार अब अनलाइन प्रक्रियामा गएको २० दिनबित्न लाग्दा समेत समस्याको समाधान नभएको उहाँको भनाइ छ ।
‘असार १४ गतेदेखि भारतबाट सामान आयात हुन छाडेपछि यस बारेमा पटक–पटक गलगलिया भन्सारका सुपरिन्टेन्डेन्टसँग भेटेर बुझ्ने प्रयास गरेका छौँ। सुपरिन्टेन्डेन्ट पनि भर्खरै आएको र त्यहाँका पुराना कर्मचारीलाई सफ्टवेयर प्रणाली जान प्राविधिक कठिनाइ उत्पन्न भएको जानकारी प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘भन्सारमा राजस्व संकलन ठप्प बनेको बारेमा भन्सार विभागलाई पनि मौखिक रुपमा जानकारी गराइसकेका छौँ।’
मुख्य भन्सार नभएकोले यसतर्फ हालसम्म कहिकतैबाट सुनुवाइ नभएको उहाँले गुनासो छ । भन्सारमा कामकाज नहुँदा भन्सार कर्मचारी केही दिनदेखि फुर्सदिला बनेका छन् । व्यापारी तथा कारोबारी पनि वैकल्पिक रुपमा अन्य भन्सारको बाटो प्रयोग गर्न बाध्य छन् । केही व्यापारीको सरसामान चाहिँ गलगलिया आसपासको गोदाममा भरिभराउ छ ।
‘नियमित रुपमा आइरहेको कृषिमा प्रयोग हुने विषादीजन्य पदार्थहरू विराटनगर र प्लाईमा प्रयोग हुने रेजिन काँकडभिट्टा नाकातर्फ गइसकेको छ,’ उहाँले भन्नुभयो, ‘लत्ताकपडा लगायतका सरसामान पारिपट्टिका गोदाममा व्यापारीहरूले राखेको जानकारी प्राप्त भएको छ ।’ भद्रपुर नाकाबाट लत्ताकपडा, जुत्ता चप्पल, कृषिमा प्रयोग हुने विषादीजन्य तथा औजार, सुर्ती, रेजिन बोकेको टंयाकर आउने गरेको भन्सारले जनाएको छ ।
भन्सारको राजस्वमा गिरावट:
कुनै बेला लक्ष्यभन्दा बढी राजस्व असुली हुने भद्रपुर भन्सारको राजस्वमा गिरावट आइरहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष भन्दा यस वर्ष करिब ३ करोड राजस्व कम उठेको हो । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा २४ करोड ३४ लाख २७ हजार राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८१।०८२ मा २० करोड ८६ लाख ७० हजार राजस्व संकलन भएको भन्सार प्रमुख सिटौलाले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष लक्ष्य असुली १२ करोड ७७ हजार ९ सय भएकोले प्रगति प्रतिशत २०१ थियो । यस वर्ष त्यसलाई बढाएर ३३ करोड १३ लाख ७३ हजार लक्ष्य राखिएकाले प्रगति प्रतिशत ६३ मात्र भयो । दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलना करिब ३ करोड राजस्व कम उठेको बताउँदै भन्सार प्रमुख सिटौलाले भन्नुभयो, ‘असारमा १८ दिन काम भएन, त्यसको असर पनि वार्षिक लक्ष्य असुलीमा परेको हो ।’