१६ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री कपी शर्मा ओलीले सचिवालय बैठक नै डाकेनन् । आज बस्ने भनिएको बैठकमा विहान कुनैपनि सचिवालय सदस्यलाई बोलाइएन । यसलाई ओलीले बैठक टारेर जान खोजेको रुपमा उनी विरुद्धका खेमामा रहेका नेताहरुले बुझेका छन् ।
ओलीले बैठक टारेर थकाउने रणनीति लिइरहँदा विरोधी स्थायी समिति सदस्यहरुलाई पनि विस्तारै आफ्नो पक्षमा पार्न थालेका छन् । यसका लागि विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । रक्षात्मक अवस्थामा रहेका ओली विस्तारै आक्रामक रणनीतिका साथ प्रस्तुत हुन थालेका छन् ।स्थायी कमिटि बैठकको माग भइरहँदा उनले सचिवालय नै नडाकेपछि ओलीसँग असन्तुष्ट नेताहरु के गर्ने भन्नेबारे परामर्श गर्न थालेका छन् । माधवकुमार नेपाललाई ओलीले शक्ति बाँडफाँडको प्रस्ताव गरेका छन् । तर, नेपाल पक्ष कडा रुपमा प्रस्तुत भएपछि ओलीको ध्यान मोडिन थालेको छ । उनी स्थायी कमिटि बैठकमा आफूविरुद्ध प्रस्ताव आएको अवस्थामा पनि विफल बनाउने गरी लागिसकेका छन् ।
ओली सकभर मिलाउने नभए पेलेरै जाने रणनीतिका साथ प्रस्तुत भएका छन् । उनले यसका लागि आन्तरिक र बाह्य व्यवस्था मजबुत बनाइसकेको बुझिएको छ । अब ओलीलाई हटाउन प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम एकढिक्का भई सारा बल लगाएर जाँदा मात्र सम्भव छ । उनीहरुले पार्टीको स्थायी कमिटि बैठक र केन्द्रीय कमिटि बैठकबाट मात्र त्यस्तो निर्णय गराउने क्षमता राख्छन् । संसदीय दलमा ओलीको स्प ष्ट बहुमत रहेको छ ।
ओली संसदीय दलमा सुरक्षित रहेका छन् । उनलाई स्थायी कमिटि र केन्द्रीय कमिटिमा डर छ । त्यसतर्फ पनि व्यवस्थापन गर्न थालेपछि उनलाई हटाउनु माधवकुमार नेपालका अलावा अन्य असन्तुष्ट नेताहरुका लागि फलामको च्युरा चपाउनु सरह भएको छ ।
सोही कारणले पनि अध्यादेश प्रकरणपछि अप् ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले बहुमत सदस्यको माग बमोजिम बैठक बोलाउन अझै आलटाल गरिरहेका छन् ।
बैठक बोलाए आफ्नै निर्णयका कारण आफूविरुद्धकै निर्णय आउनसक्ने देखेर ओलीले बैठकप्रति अनिच् छा देखाएका हुन् । ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने चर्काे दबाब पार्टीभित्र छ । तर, ओली यसमा सहमत छैनन् । बरु मन्त्रिपरिषदका सदस्य र मुख्यमन्त्री हेरफेर गर्नसक्ने विकल्प अघि सारेर उनले असन्तुष्ट नेताहरुलाई फकाउने प्रयास जारी राखेका छन् ।
पार्टीभित्र ओलीका विरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष् ठसहितका नेताहरु प्रस्टसँग ध्रुवीकृत भैसकेका छन् । नौ सदस्यीय सचिवालयमा ओलीको विपक्षमा स्पष्ट बहुमत देखिन्छ । स्थायी समितिमा पनि पूर्वमाओवादी पक्षको झण्डै ४५ प्रतिशत र माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहितका नेताहरुको जोड्दा प्रचण्ड बहुुमत विपक्षमा देखिन्छ ।
सोही अनुसार सोमबार(हिजो) मात्रै पनि ओलीले बालुवाटारमा केही सांसदलाई बोलाएर आफूलाई सहयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन् । ‘म जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छु । साथीहरुले संकटको घडीमा सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छु’, बालुवाटारमा सांसदहरुसँगको भेटमा ओलीले भनेका थिए ।
समस्या समाधानका लागि सोमबार(हिजो) दिनभर भएका वार्ता निष्कर्षमा नपुगेपछि मंगलबार समेत एकपक्षीय दुई पक्षीय र दुई पक्षीय वार्ताले निरन्तरता पाउने भएका छन् । सोमबार दिनभर कहिले बालुवाटारमा ओली र नेपालबीच वार्ता भयो भने नेपाल र प्रचण्डबीच पनि वार्ता भए । खनाल, प्रचण्ड र ओली तथा केही सुदूरपश्चिमका सांसदहरुबीच समेत वार्ता भयो ।
पछिल्ला दिनमा नेकपाभित्रको आन्तरिक राजनीति हेर्दा नेकपा पार्टी नभएर गुटहरुको मञ्चजस्तै देखिएको छ । दुई पार्टी मिलेर बनेको नेकपा अहिले सिंगो पार्टी नभएर ओली गुट, प्रचण्ड गुट, माधव गुट, नारायणकाजी गुट, वामदेव गुट र वादल गुटमा परिणत हुन पुुगेको छ । उनीहरुका भेला, बैठक र छलफलले त्यही संकेत गर्छ । नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘ पार्टी नै छिन्नभिन्न भैसक्यो । अव त पार्टी भन्न पनि नमिल्ने भैसकेको छ । सवै गुटमात्रै चलाइरहेका छन् । कसरी पार्टी भन्नु ?’