१४ वैशाख, इलाम ।
१. कोरोना भाइसर (COVID–19) को महामारीले यतिबेला सिंगो विश्व नै संकटमा छ । आज सिंगो मानव समाजको अस्तित्वमाथि नै प्रश्न उब्जिएको छ । संसारभर करिब ३० लाख मानिसहरुमा संक्रमण देखिएको छ भने दुई लाख भन्दा बढीको निधन भइसकेको अवस्था छ । नेपालको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५१ जनामा संक्रमण देखिएको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । करिब ४२ हजारको RDT परिक्षण भएको छ भने करिब १० हजार जनाको एPCR परिक्षण भइसकेको अवस्था छ ।
२. महामारीसँग जुध्न सरकारले गरेको जिम्मेवार पहलकदमी र नागरिकहरुमा भएको इमान्दारिताले गर्दा नेपालमा तुलनात्मक रुपमा कोरोना भइरसको प्रभाव कम रहेको छ । हामी संक्रमणको तेस्रो चरणमा छौं, महामारीको चरणमा प्रवेश गरेको अवस्था छैन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आजसम्म कसैको निधन भएको छैन, यो नै खुशीको कुरा हो ।
३. उच्चस्तरीय समितिको सिफारिसमा संघीय सरकारले गरेको लकडाउन (बन्दाबन्दी) पटक–पटक समय थप्दै जारी छ । जसमा आम देशबासीको सहयोग र समर्थन छ । अन्तर्राष्ट्रिय सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ भने हवाई उडान आगामी जेष्ठ २ गतेसम्म बन्द गरिएको छ । असंगठित क्षेत्रमा काम गर्ने अति विपन्न नागरिकहरुलाई राज्यले राहत वितरण गरिरहेको छ भने नागरिकको स्वास्थ्योपचारलाई उच्च महत्व दिँदै काम गरिरहेको छ ।
४. लकडाउन (बन्दाबन्दी) सरकारको निर्णय हो । यसको परिपालना सबैको दायित्व हो । लकडाउन भन्नुको अर्थ जहाँ बसोबास गरिरहेको छ त्यहीँ नै बस्नु भन्ने नै हो । तर कतिपय स्थानमा राहत वितरणमा भएको ढिलासुस्ती र अभावका कारण मानिसहरु देशभर हजारौंको संख्यामा सयौं किलोमिटर पैदल आवतजावत गर्ने क्रम देखियो । काठमाण्डौं छाड्नेहरुको लर्काे ठूलै देखियो । सबै मानिसलाई जबरजस्ती काठमाण्डौंमै बन्धक बनाएर राखेको भए विद्रोह नै हुने अवस्था थियो । जसलाई प्रदेश नं. ३ का मुख्यमन्त्रीले त भन्नु पनि भएको थियो । संघीय सरकारका मन्त्रीहरु आफैं लागेर आफ्ना जिल्लाका मानिसहरुलाई गाडि चढाएर फर्काउने काम भयो । साविक मेची अञ्चलकै हकमा समेत इलाम बाहेक सबै जिल्लाका स्थानीय तहहरुले आवश्यक समन्वय गरेर मानिसहरु आफ्नो जिल्ला फर्कायो । तर इलाम जिल्लाको हकमा ठीक विपरित निर्णय भयो ।
५. जिल्ला समन्वय समिति इलामको आयोजनामा मिति २०७७/०१/१२ गते बसेको स्थानीय तहहरुसँगको बैठक र सोही दिन बसको जिल्ला क्राइसिज मेनेजमेण्ट सेन्टरको बैठकले इलाम बाहिर काठमाण्डौं लगायतका स्थानमा भएका इलाम आउन चाहने जिल्लाबासीहरुलाई आउन नदिने निर्णय भयो । दुवै बैठकमा मानिसहरु धेरै संख्यामा भित्रन सक्ने, क्वारेन्टाइनको व्यवस्था गर्न कठिनाई हुने, लकडाउनको प्रभावकारिता नहुने जस्ता तर्कहरुका आधारमा निर्णयमा पुगेको भनियो ।
६. अन्य कुरा जेसुकै भएपनि यो निर्णय तत्कालीन सापेक्षतामा अनुचित देखिन्छ । नागरिकको सम्मान, संरक्षण र परिपूर्तिको जिम्मा राज्यको नै हो । आउन दिनु नै हितकर हुने देखिन्छ । यो दशैं, तिहार जस्तो चाडपर्व होइन, चुनाव होइन त्यसैले किन आउनु वा ल्याउनु पर्यो भन्ने तर्कले हामी मानवीय संवेदनामाथि प्रहार गरिरहेको छ । यस्ता कुतर्कहरुको हिसाब–किताब मानिसले पछिसम्म राख्नेछन् । यो तर्क कि इलाम नै बसिरहेकाले गरिरहेका छौं, कि काठमाण्डौंमा घर भएकाले गरिरहेका छौं कि त आफन्त विदेशमा भएर काठमाण्डौं बसिरहेकाहरुले गरिरहेका छौं । सबै जिल्लाका मासिहरुलाई फर्किन वातावरण बनाईरहेको अवस्थामा ज्याला मजदुरी गर्ने विपन्न र आधारभूत जनताका पढ्दन गएका छोराछोरीहरुलाई घात परेको छ ।
७. त्यसमा पनि उदयपुर जिल्ला बाहेकका स्थानमा भएको मानिसहरु ल्याउनको लागि जिल्लाका ८१ वटै वडाहरुलाई विवरण संकलन गर्न लगाएर त्यसको खिलापमा निर्णय गर्नु निश्चय नै बुद्धिमत्तापूर्ण छैन । संघीय राजधानीमा बस्नेलाई सम्बन्धित स्थानीय तहको समन्वयमा राहत बाँड्ने भनेर गरिएको निर्णयलाई बचाउन काम थालिएको छ, एक हिसाबले यसलाई सकारात्मक नै मानौं तर यसले सबैको सम्बोधन गर्न सक्दैन । अनि काठमाण्डौं, ललितपुर र भक्तपुर बाहिर बस्ने इलामेलाई चाहिँ राहतको व्यवस्था गर्नु पर्दैन । त्यसैले इलामका मानिसहरुलाई नल्याउने भनि गरिएको गलत निर्णयलाई अनेक उपनिर्णयहरुले बचाउन सक्दैन । आजको उत्तम विकल्प ल्याउने नै हो ।
८. मान्छे नल्याउने निर्णय गरेको बैठकमा बसेका १० वटा स्थानीय तहहरुमध्ये रोङ्ग र सन्दकपुर गाउँपालिकाले निर्णय गरेर आ–आफ्नो पालिकाका मानिसहरु ल्याउन प्रक्रिया अगाडि बढाईसकेको अवस्था छ । झापा, पाँचथर र ताप्लेजुङ्गको गाडिमा अबर परेका विपन्न नागरिक तथा विद्यार्थीहरु घर फर्किरहेका छन् । एकपटक तिनको ठाउँमा आफूलाई राखेर सम्झौं, यो बेला घरको महत्व र मत्लब । तिनलाई कसैले रोक्न सक्ने स्थिति छैन । अनि यस्तो फितलो निर्णय किन गर्नु ?
९. इलाम बाहिर रहेका मानिसहरुलाई ल्याउनको लागि बजेट, व्यवस्थापन लगायतका कतिपय सीमाहरु छन् । यति हुँदाहुँदै पनि ल्याएर स्वास्थ्य जाँच गरेर नियमपूर्वक क्वारेन्टाइन/होम क्वारेन्टाइनमा राखेर घर पठाउने गरिको निर्णय गर्नु उचित हुने देखिन्छ । तसर्थ यस सम्बन्धमा इलाम जिल्लाका मानिसहरुलाई नल्याउने गरी बैशाख १२ गते निर्णय गर्ने सम्बन्धित जिम्मेवार सरोकारवालहरुको ध्यानाकर्षण हो । अविलम्ब व्यवस्थित रुपमा जिल्ला बाहिर भएका नागरिकहरुलाई ल्याउन आवश्यक पहल सबैले गरौं । धेरै तर्कबाजी नगरौं, इलाम बाहिर भएकाहरुलाई ल्याऔं ।
-लेखक नेकपा इलाम जिल्ला कमिटी सचिवालय सदस्य एवं कार्यालय सचिव तथा जिल्ला युवा समितिको कार्यालय इलामको अध्यक्ष हुनुहुन्छ ।