झापाको महारानीझोडाको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना

झापाको महारानीझोडाको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना


२३ वैशाख, झापा । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन् ।

कृषकहरूलाई आर्थिक रूपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिघा जग्गा समेटेर कृषक सदस्यकै सहभागितामा सामूहिक खेती सुरु गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताउनुभयो । त्यही सामूहिक खेती अहिले ‘नमुना एकीकृत सहकारी खेती’ को रूपमा कृषि अभ्यासको नमूना बनेको छ । खेती अवलोकन गर्न आउनेहरू बढेपछि यहाँ ‘कृषि घरबास’ सञ्चालनले पर्यटन प्रवर्धन भएको छ ।

सहकारी संस्थाको १३ वटा अन्तर समूह र ३०४ वटा साना किसान समूहमा एक हजार ९५६ जना महिला सदस्य आबद्ध छन् । त्यसमध्ये ८१ परिवारको समूह सहकारी खेतीमा जोडिएको छ । सहकारी खेतीको वार्षिक कारोबार दुई करोड ५० लाख रहेको नमुना सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाई बताउनुहुन्छ । वार्षिक कारोबारमध्ये एक करोड श्रमबापत सदस्य कृषकहरूले नै पाउने गरेका छन् ।

यो वर्ष एक बिघा जग्गाको शेयर बापत सदस्य कृषकले सहकारी खेतीबाट ६२ हजार नौ सय पाएको चापागाईले जानकारी दिनुभयो । एक कट्ठाको एक शेयर हुने आधारमा एक बिघाको २० शेयर मानिने गरेको छ । एकलभन्दा सामूहिक खेती गर्दा बढी प्रतिफल पाइने भएकाले सहकारीका सदस्यहरू सहकारी खेतीमा रमाउनु भएको उहाँको भनाइ छ ।

खेतीबाट धान, मकै र तोरीको गुणस्तरीय बिउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित बिउ झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहासम्म बिक्री भइरहेको छ । सहकारी खेती चक्लाबन्दी खेतीको एउटा नयाँ नमूना भएको चापागाई बताउनुहुन्छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर