आधारहिन कुरोले चरित्रमाथि प्रहार गरियोः सांसद महेश बस्नेत

आधारहिन कुरोले चरित्रमाथि प्रहार गरियोः सांसद महेश बस्नेत

११ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । संञ्चारमाध्यम संग कुरा गर्दे उहाँले यादवसँग महोत्तरीमा भेट भएको र सँगै काठमाडौं आएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छः “हामी उहाँको घरमा गएर खाना खाएर सँगै आएका हौं । उहाँको श्रीमतीले अपहरण भन्नु भएको छैन ।” उहाँ अझै थप्नुहुन्छः “भिनाजु र पिएसओसँगै आएका छन् । यो विश्वदीप जीको फण्डा हो ।”

समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले हिजो दिउँसो र आज बिहानसम्म आफ्ना पार्टीका सांसदलाई बस्नेतसहित पूर्वआइजिपी सर्वेन्द्र खनाल र नेकपाकै अर्का सांसद किसान श्रेष्ठले ‘अपहरण’ गरेको भन्दै सामाजिक संञ्जाल ट्विटर मार्फत आरोप लगाएका थिए ।

बस्नेतले भक्तपुरमा अलपत्र मजदूरहरूलाई पुर्याउन काभ्रेको भकुण्डेबेंसी सम्म पुगेको र त्यसैक्रममा किसान श्रेष्ठ सँगै महोत्तरी पुगेको बताउनुभएको छ । सर्वेन्द्र खनालसँग पनि भकुण्डेबेंसीमा भेट भएको उहाँले उल्लेख गर्नुभएको छ ।

सुरेन्द्र यादवको घरमा खाना खाएपछि फर्कनेक्रममा यादवले समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियासँग पनि कुराकानी गरेकोसांसद बस्नेतले बताउनुभएको छ । “उहाँले पार्टीका समस्या राख्नुभयो । भोगाइ राख्नुभयो । २ बजेसम्म उहाँकै घरमा बस्यौं । उहाँले आफ्नै पार्टीका धनुषाका माननीय भेट्न चाहनुभयो, त्यसपछि उहाँहरूले पार्टीका समस्याबारे प्रधानमन्त्रीलाई सन्देश दिनुहोस् भन्नुभयो ।”

उहाँ प्रश्न गर्नुहुन्छः “काठमाडौंको सांसद गएर देहातबाट कुनै सांसद अपहरण गर्न सम्भव छ?” । कुनै तुक नभएको कुरोले आफूहरूको चरित्रमाथि प्रहार भएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर