१० बैशाख, सुनसरी । बन्दवन्दीको समयमा उपभोक्तालाई सहजरुपमा तरकारी उपलब्ध गराउन साथै तरकारी बजार अनुगमन गर्नको लागि धरानमा अनुगमन समिति गठन गरिएको छ । आज बिहान बसेका नगरको बैठकले उपोभोक्तालाई बन्दावन्दीको समयमा तरकारी सहजरुपमा वितरण गर्न सो निर्णय गरेको हो ।
अनुगमन समितिको संयोजक उपमेयर मञ्जु भण्डारी सुवेदी रहनुभएको छ । बजार अनुगमन समिति मातहतको यो समितिमा वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, उपभोक्ता मञ्चकोतर्फबाट अनिल श्रेष्ठ, कृषि बजारस्थलका अध्यक्ष पर्शुराम कटवाल, बजार अनुगमन शाखाका अधिकृत, धरान ३ स्थित पालिका बजारका राजेन्द्र दर्नाल र सुनसरी उद्योग वाणिज्य संघ पनि सदस्य रहेको बताईएको छ ।
समितिले तरकारीको सहज आपूर्ति भए नभएको अनुगमन गर्ने संयोजक भण्डारीले जानकारी दिनुभयो । यसका अलावा समितीले तरकारी तथा फलफुलको मुल्य, दररेटमा एकरुपता भए नभएको पनि अनुगमन गर्ने बताईएको छ ।