१० बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थापना दिवसको अवशरमा शुभकामना दिनुभएको छ । नेकपाको स्थापना दिवशसंगै लेनिन जयन्तीका अवसरमा उहाँले वक्तव्य जारी गर्नुहुँदै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनुभएको हो ।
उहाँले पार्टीको ७१ औँ स्थापना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले बितेका यी वर्षमा नेपालको गौरवशाली पार्टी नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र सङ्गठित गर्दै आएको तथा अनेकौँ आरोह–अवरोहको सामना गर्दै सङ्घर्षको नेतृत्व गरिरहेको स्मरण गर्नुभएको छ ।
अप्रिल २२ अर्थत वैशाख १० गते ठिक आजकै दिन, ७१ वर्ष पहिले नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । यसैगरी आजकै दिन विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको पनि जन्म भएको थियो ।
नेपालमा २००६ साल वैशाख १० गते आजकै दिन पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पार्टीका अध्यक्ष एंवम् प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यमा भन्नुभएको छः “सात दशकको अवधिमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वाेच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो ।
पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनःर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो ।”
कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उल्लेख गर्नुभएको छ । उहाँले पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यका साथै अग्रणी विचारकप्रति उच्चसम्मान व्यक्त गर्नुभएको छ ।