२२ भदौ, झापा । झापाको भद्रपुर नाकाबाट नेपाली सामान भारत निर्यात गर्न सहजीकरणका लागि त्रिपक्षीय पहल गरिएको छ । भद्रपुरका नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा गलगलिया भन्सार गएको एक टोलीले त्यहाँको भन्सार प्रमुखसँग कुरा गरेपछि भन्सार प्रमुख सकारात्मक भएको पाइएको छ ।
नेपाली पक्षको टोलीमा नगरप्रमुख पोखरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मी तथा मैत्री संघका सदस्य प्रदीप सरावगी सहभागी थिए । टोलीमा सहभागी नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष रेग्मीका अनुसार गलगलिया भन्सारले हालै भन्सार कोड पाइसकेको अवस्थामा नेपाली पक्षले अनुरोध गरेमा निर्यात सहज बनाउन पहल गर्ने प्रतिबद्धता गलगलिया भन्सार प्रमुख अमरनाथ रामले जानकारी दिनुभयो ।
गलगलिया भन्सार प्रमुख रामले नेपालबाट मुख्यतया निर्यात हुने चिया, प्लाई, भेनियर लगायतलाई निर्यात गर्न दिने जनाएको संघका अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँले चियाको प्लान्ट क्वारेन्टाइन जाँचका लागि कोलकाताको बदला जोगवनी पठाउने व्यवस्था पनि गरिदिने गलगलिया भन्सार प्रमुखले बचन दिएको पनि बताउनुभयो । पहलमा गलगलियाका पूर्व मुखिया गणेश राय समेतको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाली पक्षले गलगलिया भन्सार प्रमुखसँग आफ्नो भन्सार कार्यालय यथाशक्य चाँडो सिमाना छेउमा सार्न पनि अनुरोध गरेको थियो ।
नेपालतर्फ भद्रपुर भन्सारको स्तर वृद्धि भइसकेको र निर्यात सहजताका लागि सीमान्त मेची नदीमा पक्की पुल बनेको बर्साैँ भइसक्ता पनि यसअघि भारतीय पक्षले गलगलिया भन्सारलाई स्तर वृद्धि नगरेकोले निर्यात हुन नसकिरहेकोमा अब गलगलिया भन्सारले भन्सार कोड प्राप्त गरिसकेकोले भद्रपुर नगरपालिका, झापा उद्योग संघ र नेपाल भारत मैत्री संघले संयुक्त रुपमा लिखित अनुरोध गरेपछि त्यसलाई कार्यान्वयनको चरणमा लान सहज हुने भारतीय पक्षले जनाएको बताइएको छ ।