इलामका चर्चित वाद्यवादक राम दियालीको निधन

इलामका चर्चित वाद्यवादक राम दियालीको निधन


१० भदौ, इलाम । इलाम जिल्लाका चर्चित वाद्यवादक राम दियालीको आइतबार अपराह्न निधन भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण ८६ वर्षको उमेरमा उनको निधन भएको हो ।

इलाम नगरपालिका–७ घर भएका दियालीले नेपाली गीत–संगीतमा महत्वपूर्ण योगदान दिएका छन् । पूूर्वीय संगीतको पाठशालाझैं रहेको भारत दार्जिलिङमा वाद्यवादन सिकेर इलामलाई समेत आधुनिक र तारबाजाको प्रयोगतर्फ र्डोयाउनमा दियालीको अतुलनीय योगदान गरेको संगीतकर्मी सम्झिन्छन् ।

१९९५ सालमा इलाममै जन्मेर उनी २०१०।०१२ सालतिर भारत दार्जिलिङमा वाद्यवादन सिक्नमा लागे । २०१५र०१६ सालतिर इलाम फर्केर केही समय उनी गरगहना व्यवसायमा लागे । तर, पनि संगीतकर्म छाडेनन् । संगीतकर्मी संगठित हुनुपर्छ भन्ने सोच रहेका दियालीबाट वाद्यवादनमा इलामले पनि धेरै सिक्न सकेको अग्रज संगीतकार बताउँछन् ।

संगीतकार तथा प्राज्ञ कोमल निरौला यहाँका धेरै संगीतकर्मीलाई दियालीले नै संगीतको बाटो देखाएको बताउँछन् । ‘उहाँले दार्जिलिङमा वाद्यवादन सिकेर आउनुभएपछि हामीले पनि क्याम्पस पढ्दा उहाँबाट संगीत यस्तो हो भन्ने सिक्न पायौं,’ निरौलाले पालिकापेजसँग भने, ‘दियालीको सबैभन्दा ठूलो योगदान इलाममा आधुनिक वाद्यवादनको प्रयोग गर्नु–गराउनु हो । र, इलामका संगीतकर्मीलाई संगठित गर्नु हो ।’

दियाली तबला, हारमोनियम, भायोलिन, मेन्डोलियमलगायत सबैखाले बाजा बजाउन सक्थे । ‘सुरुमा उहाँले बाँसुरी पनि बजाउनुुभयो तर पछि छोड्नुभयो,’ निरौलाले भने, ‘उहाँ तारबाजामा चाहिँ सबैलाई उत्साही गर्नुहुन्थ्यो, उहाँ सक्रिय भएकै कारण इलाममा तारबाजाको प्रगति हुँदैगएको हो ।’

आफ्नो सांगीतिकयात्रामा उनले दर्जनौं पुरस्कार र सम्मान पाएका छन् ।

दियालीका तीन छोरा अहिले संगीतमै क्रियाशील छन् । उनका छोरा सुमन संगीतकार छन् भने अनुप र अनोज दियाली वाद्यवादक हुन् । साभारः पालिका पेज

प्रतिक्रिया:

सम्बन्धित खवर