अन्तरजातीय प्रेमपछि हत्या गरिएकी मीनाको गर्भमा भ्रूण रहेको पुष्टि

अन्तरजातीय प्रेमपछि हत्या गरिएकी मीनाको गर्भमा भ्रूण रहेको पुष्टि

८ भदौँ,  म्याग्दी  ।  म्याग्दीको बेनी नगरपालिका-९ गिठिनी कालीमुल जंगलमा हत्या गरी गाडेको अवस्थामा फेला परेकी मीना परियारको गर्भमा सडेगलेको अवस्थाकै भ्रुण रहेको खुलेको छ । शवको पोस्टमार्टम गर्दा मीनाको गर्भमा मृत भ्रुण भएको पुष्टि भएको हो ।

२०८० पुस १६ गते राति सवा ११ बजे घरबाट बेपत्ता भएकी बेनी-९ तोरीपानीकी १९ वर्षीया मीनाको शव गत साउन २७ गते जंगलमा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जमिनमुनि गाडेको शव उत्खनन गर्दा अनुहार र लिंग पहिचान हुन सकेको थिएन ।

‘सडेगलेको मृत शरीर’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा पोस्टमार्टम गरिएकामा ‘शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र पेटमा भ्रुणसमेत रहेको’ रिपोर्टले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेनी अस्पतालले ‘विज्ञ डाक्टर’ नभएको भनी फर्काएपछि प्रहरीले साउन २७ गते नै शवको पोस्टमार्टम गर्न पोखरा पुर्‍याएको थियो । पोस्टमार्टम रिपोर्ट बिहीबारमात्र आएको हो । ‘सडेगलेको मृत शरीर’ महिलाको भएको र गर्भमा सडेगलेको अवस्थामा भ्रुण रहेको पोस्टमार्टम रिपोर्ट आएपछि जिल्ला प्रहरी कार्यालयले आरोपित राम खत्रीकै हो वा होइन भन्ने परीक्षण गर्न ‘मृत शरीर’ र मीना परियारका परिवारका सदस्यहरु तथा मृत भ्रुण र आरोपी खत्रीको डीएनए संकलन गरी नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाउने’ तयारी गरेको जनाएको छ ।

‘बेनी नगरपालिका-९ गिठिनी जंगलमा फेला परेको सडेगलेको मृत शरीर महिलाको भएको, पेटमा भ्रुण रहेको र धारिलो हतियारको प्रयोग गरी हत्या गरेको पुष्टि भएको छ,’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसन्धान अधिकृतसमेत रहेका सूचना अधिकारी राजन रायमाझीले भने, ‘अब हामी उक्त शव बेपत्ता मीना परियारकै हो वा होइन र भ्रुण आरोपित पात्रकै हो वा होइन छुट्याउन सम्बन्धित पात्रहरुको डीएनए संकलन गरी फरेन्सिक ल्याब परीक्षण गर्न राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने तयारीमा छौं ।’

शवसँगै भेटिएको सुनको सिक्री, कालो सल, चप्पल समेतका कपडाहरुबाट उक्त शव करिब ८ महिनादेखि बेपत्ता १९ वर्षीया मीनाकै भएको भन्दै परिवारले सनाखत गरेको थियो । शव पोस्टमार्टमपछि प्रहरीले मीनाको परिवारलाई बुझाएको छ ।

त्यसैबीच मीनाको परिवारले ‘ज्यानसम्बन्धी कसुर’मा प्रहरी कार्यालयमा किटानी जाहेरी दायर गरेको छ । बाबु चन्द्रे नेपाली (परियार)ले गत साउन ३० गते मीनाका प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम खत्रीसमेत आमा, दाइ, भाइ र सालासमेत परिवारका ५ जनाविरुद्ध किटानी जाहेरी दायर गरेका हुन् ।

०८० पुस १६ गते राति बेपत्ता मीनाको खोजतलासका लागि परिवारले पुस २२ गते प्रहरीमा जाहेरी दिएको थियो भने माघ २१ गते छिमेकी राम खत्रीले नै मीना परियारलाई बेपत्ता बनाएको भन्दै ‘व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुर’मा जाहेरी दिएको थियो । जिल्ला अदालतको ०८० फागुन १७ गतेको थुनछेक आदेशबाट आरोपित खत्री यसअघि नै पुर्पक्षका लागि थुनामा छन् ।

स्थानीय गलेश्वर माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत मीना र रामबीच प्रेम सम्बन्ध भई पटक-पटक यौन सम्पर्कबाट मीनाको ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक-पटक उक्त गर्भपतन गर्न दबाब दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो । तर आरोपित खत्रीले प्रेम सम्बन्ध भई यौन सम्पर्क भएको स्वीकार गरे पनि हत्या, बेपत्ता पारेको आरोप भने अनुसन्धान गर्ने प्रहरी, मुद्दा अभियोजन गर्ने सरकारी वकिल र अदालतमा इन्कारी बयान दिँदै आएका थिए ।

त्यसैबीच दलित अगुवा तथा संस्थाहरुले मीनाको अन्तरजातीय प्रेम सम्बन्धकै कारण हत्या भएको भए पनि विभिन्न दबाबमा प्रहरीले अनुसन्धानमा चासो नदिएको आरोप लगाउँदै दैनिक प्रदर्शन गरिरहेका छन् ।

‘सुरुमा पनि प्रहरीले जाहेरी लिन आनाकानी गर्‍यो । हामीले काठमाडौं पुगेर सांसद, मन्त्रीलाई भन्न लगाएर बल्ल व्यक्ति बेपत्ता मुद्दा दायर भएको हो । अहिले पनि चनाखो नहुने हो भने मुद्दाले स्वरुप फेर्ला भन्ने त्रास छ,’ संयुक्त राजनैतिक दलित संघर्ष समितिका लालु किसानले भने, ‘हामीले मीना र रामबीचको म्यासेन्जर संवाद सार्वजनिक भएसँगै प्रहरीलाई सचेत गराएका हौं । अहिले पनि मुद्दाको अनुसन्धान फितलो होला, कानुनका नौ सिङ भन्छन्, विषयान्तर हुन नदिन र मुद्दा कमजोर नबनाउन दबाब दिएका हौं ।’

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270