समग्र हवाई सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने उड्डयनमन्त्री पाण्डेको भनाई

समग्र हवाई सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने उड्डयनमन्त्री पाण्डेको भनाई


२४ साउन, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाई दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताएका हुन् । हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताउँदै उनले भने, ‘अब समग्र सिस्टममाथि नै अध्ययन गर्नुपर्छ ।’

विगतमा पनि अनुसन्धान हुने, प्रतिवेदन बुझाउने तर दुर्घटना भइरहने समस्या देखिएको भन्दै मन्त्री पाण्डेले त्यस्तो अवस्था अब अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै मन्त्री पाण्डेले हेलिकप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन् । बिहीबार विहान नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौर पुगेर मन्त्री पाण्डेले दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेका हुन् ।

हिजो नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर