गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा

गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा


१५ साउन, झापा । झापाको कमल गाउँपालिकाले गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने भएको छ । चालु आर्थिक बर्ष २०८१–०८२ को स्वास्थ्य सेवा तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरु लक्षित निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने कार्य शुरुवात गरिएको पालिकाले जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमलका ७ वटै वडामा हरेक महिना आठ दिनसम्म गर्भवती महिला लक्षित भिडियो एक्सरे सेवा उपलव्ध गराईने छ । भिडियो एक्सरे जाँचका लागि पालिकाले कमल नगर अस्पतालको सहकार्यमा त्यस्तो सुविधा उपलव्ध गराउने तयारी गरिएको उहाँले बताउनुभयो । गर्भवतीका समयमा हुने स्वास्थ्य समस्यालाई बेलैमा पहिचान गरि उपचारमा प्रेरित गर्न यस किसिमको निशुल्क भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवा विस्तार गरिएको उहाँको भनाई छ ।

उहाँका अनुसार कमल– ७ मा हरेक महिनाको १७ गते, ६ वडामा १८ गते, २० गते कमल ५ को सिम्लेस्थित आधारभूत स्वास्थ्य केन्द्र, २१ गते कमल ५ कै आधारभूत स्वास्थ्य केन्द्रमा निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध हुने छ । त्यसैगरि, कमल –४ को स्वास्थ्य केन्द्रमा २२ गते, २३ गते कमल –३ को स्वास्थ्य केन्द्र ,२४ गते कमल– २ को कमल नगर अस्पताल र २५ गते कमल –१ को स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा उपलव्ध हुने उल्लेख छ । उक्त कार्यक्रम चालु साउन महिनादेखि सञ्चालनमा आउने पालिकाद्धारा जारी सूचना जनाईएको छ । उक्त समयमा वडा भित्रका लक्षित महिलाहरुले त्यस्तो सुविधा लिन हुन भनिएको छ ।

पालिकाले गर्भवती महिलाका लागि यसअघि अस्पतालसम्म उपचारका लागि एम्बुलेन्स समेत निःशुल्क उपलव्ध गराउदै आएको पालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । गर्भवती महिलाको सुरक्षित प्रजनन अधिकारलाई सहजता बनाउन यस किसिमको कार्यक्रम शुरु गरिएको उहाँको भनाई छ । यस कार्यक्रमबाट गर्भवतीका कारण अकालमा हुने स्वास्थ्य जोखिममा समेत सुधार आउने अपेक्षा पालिकाको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर