२० असार, झापा । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ ।
कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जिवारीमा स्वचालित साइरन जडान गरिएको छ । उक्त साइरन स्कुलको छतमा जडान गरिएको छ ।
प्रवक्ता भट्टराईले बहुप्रकोपीय स्थानको अध्ययन अनुसन्धान गरेर रेडक्रस सोसाइटीको सहकार्यमा पूर्व सूचना प्रणाली देशभर जडान गरिएको बताउनुभयो । बाढीको उच्च जोखिममा रहेका देशभरका ६० स्थानमा परीक्षणका लागि स्वचालित साइरन जडान गरिरहेको उहाँले बताउनुभयो । उहाँले स्वचालित साइरन जडान गर्न करिब रु सातदेखि आठ लाख खर्च हुने हुँदा अन्य पालिका आफैँले पनि खरिद गरेर जडान गर्न सक्ने बताउनुभयो ।
कनकाईमा रहेको वर्षा मापन यन्त्रले जलसतह तीन दशमलव आठ मिटरमाथि पुगेपछि एसएमएस पठाउने गरेको छ, यसैका आधारमा साइरनको आवाजले स्थानीयवासी सूचित हुनेछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ ।
यसअघि जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय क्षेत्रका कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका १२ वडाका १५ बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै मानव परिचालित साइरन जडान गरिएको नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन फोकल पर्सन हरिकृष्ण खड्काले बताउनुभयो ।
झापा र इलामको सिमाना मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने पूर्व जानकारी मोकाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसबाट पठाउने गरेका छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन घन्काउने गरिएको उहाँले बताउनुभयो ।
यसैगरी, दुई महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत जल तथा मौसम विज्ञान विभागले बाढीमापन उपकरण जडान गरेको छ । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी छ ।
यस वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले करिब आठ हजार नौ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका दुई सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ ।