१२ असार, मकवानपुर । जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् ।
कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
प्रहरी चौकी कान्द्राङका अनुसार आइतबार बिहान राक्सिराङ–७ दुगुवाङमा जङ्गली च्याउ खाँदा बलबहादुर प्रजासहित एकै परिवारका पाँच जना बिरामी परेका थिए । बिरामी पाँचै जनाको भरतपुर अस्पतालामा उपचार भइरहेकामा बलबहादुरको मृत्यु भएको प्रनाउ भण्डारीले बताइन् ।
राक्सिराङ–७ दुगुवाङका स्थानीय बलबहादुर प्रजाले जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको थियो ।