१२ असार, झापा । झापाको झापा गाउँपालिकाले दिगो विकासका लागि महत्वाकांक्षी योजना अघि सारेको छ । चालू आर्थिक वर्षको हालसम्म १ करोड ५५ लाख रुपैयाँ मात्र आन्तरिक राजश्व संकलन गरेको झापा गाउँपालिकाले सोमवार ४९ करोड ९० लाख रुपैयाँको बजेट सहितको नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपाल सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, त्यस्तै प्रदेश सरकारको बित्तीय समानीकरण अनुदानर राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम सहित गाउँपालिकाले बजेट सार्बजनिक गरेको हो ।
आर्थिक वर्ष २०८०।०८१ मा गाउँपालिकाले आर्थिक विकासका क्षेत्रमा छुट्याएको बजेट मध्ये ३६ दशमलव ४ प्रतिशत रकम हालसम्म खर्च गरेको छ । कृषि, पर्यटन, सहकारी, जलस्रोत, पशुपंक्षी विकास र भूमि ब्यवस्थाका क्षेत्रमा विनियोजन गरिएको रकम मध्ये हालसम्म ९८ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षका लागि पालिकाले आर्थिक विकासका क्षेत्रमा २ करोड ७० लाख २० हजार रुपैयाँको बजेट व्यवस्था गरेको थियो ।
तर, समपूरक बजेट कम आएको जनाउँदै झापा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकासका क्षेत्रमा एक करोड ८४ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये सहकारी विकासका लागि ५ लाख, कृषि समूह र कृषकसँंगको साझेदारीमा कृषिजन्य सामग्री खरिदका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले कृषि उपकरण खरिदमा अब ५० प्रतिशत अनुदान दिने भएको छ ।
कृषि क्षेत्रमा विद्युत विस्तारका लागि एक करोड रुपैयाँ बजेट ब्यवस्था गरेको छ । कृषकलाई सिँचाई कार्यक्रमका लागि विद्युत महसुलमा ६० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ८० प्रतिशत महसुल व्यहोर्ने भएको छ । योसंँगै कृषिका लागि सिँचाई गर्ने कृषकले २० प्रतिशत मात्रै महसुल बुझाउँदा हुने भएको छ । किसानलाई सिँचाईका लागि विद्युत महसुलमा सहुलियत दिन २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । त्यस्तै कृषि बाली तथा पशुपालन कृषकसंँगको ५० प्रतिशत लागत साझेदारीमा विमा कार्यक्रमका लागि ६ लाख रुपैयाँ र कृषक तालिमका लागि मात्रै दुई लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ ।
पूर्बाधार विकास क्षेत्र अन्तरगत चालू अर्थिक वर्षका लागि १९ करोड ८० लाख ७८ हजार १ सय ८९ रुपैयाँ अनुमानित बजेट विनियोजना गरेको झापा गाउँपालिकाले हालसम्म १० करोड १० लाख ७८ हजार ४ सय ७९ रुपैयाँ खर्च गरेको छ । यो कूल खर्चको ५१ दशमलब ०२ प्रतिशत हो ।