बिर्तामोड नगरपालिकाको १ अर्ब ३९ करोड ९६ लाखको बजेट प्रस्तुत

बिर्तामोड नगरपालिकाको १ अर्ब ३९ करोड ९६ लाखको बजेट प्रस्तुत


११ असार, झापा । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को दोस्रो नगर सभाको पाचौं अधिवेशनबाट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ ।

‘उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास र सुशासन सहितको समृद्धि’ भन्ने मूल नारासहित नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका हुन् ।

संघीय समानीकरण तर्फ २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँड तर्फ रु १३ करोड ९८ लाख, प्रदेश समानीकरण तर्फ रु १ करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँड रु १ करोड चौतिस लाख २० हजार, आन्तरिक श्रोत तर्फ रु २० करोड ५० लाख, जग्गा रजिष्ट्रेशन तर्फ रु १२ करोड, संघीय सशर्त चालू रु २९ करोड ८ लाख ६३, हजार, संघीय संशर्त पूजीगत रु ३१ करोड ८० लाख २५ हजार, संघीय विशेष अनुदान रु ३ करोड, प्रदेश सशर्त चालू रु ९४ लाख ४६ हजार, प्रदेश पूँजीगत सशर्त रु १ करोड ४१ लाख, प्रदेश समपूरक रु १ करोड ३० लाख र जनसहभागिताबाट रु २ करोड गरि १ अर्ब ३९ करोड ९६ लाख ९१ हजारको बजेट प्रस्तुत गरिएको छ ।

कृषि, पशु, मानवीय क्षमता विकास र विभिन्न लक्षित कार्यक्रमहरु मार्फत आर्थिक समृद्धि गर्ने, दीगो विकास लक्ष्य र नगरको आवधिक योजनाको उद्देश्य पूरा गर्ने उद्देश्य रहेको उपप्रमुख संग्रौलाको भनाई छ ।

बजेट प्रस्तुत गर्दै आधारभूत स्वास्थ्य, गुणस्तरीय शिक्षालाई दीगो रुपमा विकास गर्ने, रोजगारी तथा स्वरोजगारी सिर्जना गंदै उद्यम विकासमा टेवा पुर्याउने उनको भनाई छ ।

उनले सुन्दर र उज्यालो नगर निर्माणको लागि वृक्षारोपण, सिसि क्यामरा जडान र सडक लाईटको व्यवस्थापन गर्ने जानकारी दिए ।

नगरपालिकाबाट सेवाग्राहीलाई समयमा सेवा प्रदान गर्दै कर्मचारी जनप्रतिनिधिबाट सुशासन सहितको सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । विपद् व्यवस्थापन गरी नदी कटान, डुबान तथा जोखिम न्यूनिकरण गर्ने, आन्तरिक स्रोतमा वृद्धि गर्ने, बेरुजु घटाउने र आर्थिक पारदर्शिता कायम गर्ने लक्ष्य राखिएको उपप्रमुख संग्रौलाको भनाई थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर