ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण

ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण

१० असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं. ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातको प्रजनन योग्य पाठी र छ वटा उन्नत जातको बोका वितरण गरेको हो ।

कोशी प्रदेश सरकारको बाख्रापालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं. वडा अध्यक्ष नविन लिम्बूले बताए ।

कार्यक्रम अन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलीजुली बाख्रापनल समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडे बोका पाएका छन् । प्रत्येक समूहमा १३ जना किसान आवद्ध छन् ।

बाख्रापानल प्रवद्र्धन कार्यक्रम अन्तर्गत समूहमा आवद्ध किसानहरुले खोर निर्माण, घाँस खेती व्यवस्थापन लगायतको काम समेत गरेका छन् । किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमका लागि ३० लाख प्रदेश सरकारबाट प्राप्त भएको थियो भने १० लाख रुपैयाँ तीनवटा बाख्रापालन समूहको लागत साझेदारी रहेको थियो ।

‘ग्रामीण क्षेत्रका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप सञ्चालित कार्यक्रमले किसानहरुमा उत्साह थपेको छ,’ वडा अध्यक्ष लिम्बूले भने, ‘यस्ता कार्यक्रमहरु शुन्य लागत सहभागितामा थप गर्न सके किसानको आयस्तर झनै बढ्ने थियो ।’

उन्नत जातको बाख्रा पाएपछि वडाबासीहरु किसानहरुले खुसी व्यक्त गरेका छन् । व्यावसायिक रुपमा बाख्रा पाल्न सुरु गरेका समूहका नागरिकहरुले बाख्रा पाएपछि मख्ख भएका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर