८ असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ ।
विद्यावारिधी (पिएचडी) गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई जनालाई पाँच लाख रुपैयाँ छात्रवृत्ति उपलब्ध गराएको छ ।
माङसेबुङ गाउँपालिकाले वडा नं. २ का मनोजकुमार लिम्बू र गोविन्दप्रसाद लिम्बूलाई छात्रवृत्ति स्वरुप जनही दुई लाख ५० हजारका दरले उपलब्ध गराएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । तर, औपचारिक वितरण हुने भने बाँही रहेको उनले बताए ।
माङसेबुङको गत असार १० गते सम्पन्न गाउँसभाको १४ औं अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमअनुसार पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको थियो ।
उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्तिको कार्यक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष राईले बताए । आफ्नो पालिकाबासी नागरिकलाई पीएचडी गर्न उत्प्रेरणा दिने उद्देश्यले ‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति वितरण सम्बन्धी ऐन, २०८०’ बमोजिम छात्रवृत्ति वितरण सुरुआत गरिएको उनले बताए ।
‘हाम्रो पालिकामा विद्यावारिधि गरेका विद्यार्थी पाउनै गाह्रो छ । कतिपयले पैसा नभएर समेत विद्यावारिधि गर्न पाएका छैनन’ अध्यक्ष राईले रासससँग भने, ‘पालिकाबासी विद्यार्थीलाई विद्यावारिधिमा उत्प्रेरणा दिनका लागि छात्रवृत्तिको कार्यक्रम कार्यान्वयनमा ल्याएका हौं ।’
छात्रवृत्ति लिनका लागि माङसेबुङ गाउँपालिका भित्रकै स्थायी बासिन्दा र नेपालकै कुनै एक विश्वविद्यालबाट विद्यावारिधि गर्नुपर्ने मापदण्ड ऐनमा उल्लेख छ । ऐनको परिच्छेद ४ दफा ७ मा ‘विद्यावारिधी अध्ययन छात्रवृत्ति सम्बन्धी व्यवस्थामा नेपालका कुनैपनि विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका सोधकर्ताहरुलाई विद्यावारिधी अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराईने’ उल्लेख छ ।