५ असार । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे ।
‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’, सिंहले प्रश्न गर्दै भने, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो र विभेदमा चल्न खोजेको हो ?’
उनले गणतन्त्रमा एउटा गरिब र एकजना निर्धाले पनि बाच्न पाउने भन्दै मधेसका मानिसले शान्तिपूर्ण आन्दोलन गर्दा किन टाउको फुटाएको भन्दै गृहमन्त्रीलाई समेत प्रश्न गरे । ‘यो विभेद किन भइरहेको छ ? यो स्वीकार्य हुँदैन’, सिंहले भने,‘ अहिलेको प्रधानमन्त्री विभेद अन्त्य गर्न जनयुद्ध गरेर आउनुभएको छ । के देशमा गरिब बस्न नपाउने हो ? हामी कवाडीको आन्दोलनमा साथ दिन्छौ ।’