२ वैशाख, झापा । विश्व महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फलिन नदिन सरकारले जारी गरेको वन्दावन्दीका कारण झापाका दक्षिणी क्षेत्रका खरबुजा खेती गर्देआएका कृषकहरु मारमा परेका छन् ।
तिन साता देखी लगाईएको वन्दावन्दीका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका गाउँपालिका वडा नं. १ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले गुनासो गर्नुभयो ।
पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासी यातायात र बजार बन्द हुँदा करिब १० लाख बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । खरबुजा खेती गर्न बैंकबाट चार लाख ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खोला बगरमै कुहिने अवस्था आएको उहाँले भन्नुभयो ।
लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको उहाँको दुःखेसो छ । उहाँले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो ।
-रासस