३० चैत्र, चुलाचुली/इलाम । दशकौँ देखी पानीको अभाव झेल्दै आएका चुलाचुलीवासीका लागि सबमर्सियल ट्युवेल वरदान सावित भईदिएको छ । सबमर्सियल ट्युवेल नेपालमा भित्रिएको एक नयाँ प्रविधीको नाम हो ।
प्रथम त चुलाचुलीमा पानीको स्रोतको नै समस्या हो । दोस्रोमा पानीको स्रोत भए पनि टाणाबाट ल्याउनु पर्ने । त्यसमा खर्च धेरै गर्नुपर्ने । मर्मत–सम्भार गरीरहनु पर्ने । समुदायका सवै लागि नपर्दा पहिले साझेदार निकायको ठूला लगानीमा ल्याएको पानी पनि बन्द भईहाल्थ्यो । गाउँघरमा हुन्थ्यो त केवल पानी विनाको धारोहरु मात्र । सरकार र दातृ निकायहरुको खर्चालु लगानीमा बनेका पानीका आयोजनाहरु केवल सम्पन्न भएर उद्घाटन मात्र हुन पाउथ्यो । त्यसले निरन्तरता पाउदैनथ्यो । अनि चुलाचुलीवासीका लागी उहीँ खानेपानीको पिडा । उर्ववर भुमी खडेरीका कारण प्रायजसो वाझै रहन्थ्यो । खेतमा वालीनाली लगाउन पानीको समस्या पथ्र्यो । खाने पानीको जोहो गर्न घण्टौँ लगाएर कित खोलाका किनार पुग्नुपथ्र्यो कित खोल्छीका जरुवाहरु चाहर्नुपथ्यो ।
तर ति समस्याहरु विस्तारै हट्दै गएको छ । चुलाचुलीमा पानीको समस्या पुर्णरुपमा हट्यो त भन्न सकिदैन तर पहिलेको तुलनामा भने निक्कै कम भएको छ । विशेषगरी भौगोलीक रुपमा सुगम भए पनि पानीको चरम समस्या खेपि रहेको चुलाचुली वडा नं. ४ पेल्टीमारीमा भने सबमर्सियल ट्युवेलका कारण खानेपानीको समस्या पुर्ण रुपमा नै हटेको जनप्रतिनिधीको जिकिर छ । चुलाचुली वडा नं. ४ का वडाध्यक्ष कालिदास भट्राईका अनुसार अहिले चुलाचुली ४ मा कतै पनि खानेपानिको समस्या छैन । उहाँ भन्नुहुन्छः ‘वडा कार्यलयको ७५ प्रतिशत र स्थानियको २५ प्रतिशत लगानीमा अहिले प्रत्येक जसो टोलमा सबमर्सियल ट्युवेल गाडिएको छ । यसले स्थानियलाई पुग्दो मात्रामा जमिन मुनीबाट पानीको निकाशा गरीरहेको छ ।’
सबमर्सियल ट्युवेल एक प्रकारको पानी तान्ने मोटर पम्प (मेसिन) हो । यसले जमिनको ७० देखी ८० फुटसम्मको गहिर्याइबाट पानी तान्न सक्छ । विद्युत्बाट चल्ने यो पम्पले गहिरो सतहबाट पनि पानीको आपुर्तीलाई सहज बनाईदिन्छ । वडाध्यक्ष भट्राईका अनुसार एउटा पम्पले तानेको पानीले ४/५ घर लाभान्वित हुन सक्छन् । जमिन मुनि रहेको पानीको सहतको आधारमा ५५ हजार देखी ७० हजार रुपैँया सम्मको लागतमा गाड्न सकिने यो मोटर पम्प चुलाचुली ४ मा मात्रै २४ वटा वितरण गरिसकिएको वडाध्यक्ष भट्राईले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा ६ वटा, गत आर्थिक बर्ष २०७५/७६ मा ९ वटा र यस चालू आर्थिक बर्ष २०७६/७७ मा ८ वटा सबमर्सियल ट्युवेल वडा कार्यलयको ७५ प्रतिशत र अन्य उपोभोक्ताको लगानीमा वितरण गरिसकिएको छ । यसले चुलाचुली ४ मा खानेपानीको समस्या हल हुदै गएको छ भने संगै सामान्य सिंचाईको सुविधा पनि दिएको स्थानिय मनिराम राईले बताउनुभयो ।
चुलाचुलीमा सर्वोप्रथम वडा नं. ४ ले सुरु गरेको यो प्रविधीको प्रयोग अहिले अन्य वडाहरुले पनि सुरु गरिसकेका छन् । चुलाचुलीकै अर्को पानीको धेरै समस्या भएको वडाको रुपमा लिईने वडा नं. ३ मा पनि यो प्रविधीको प्रयोग निकै सकारात्मक र सफल रुपमा भईरहेको स्थानिय कंञ्चन राईले जानकारी दिनुभयो ।
के भन्छन् त स्थानिय ?
जनप्रतिनिधीहरुको कुरो सुनेर हामी प्रत्यक्ष रुपमा स्थानियलाई सोध्न हिँड्यौ । वास्विकता केहो भनेर हामिले स्थानियहरुको प्रतिकृया लियौँ । चुलाचुली वडा नं. ४ कै एक घरमा हामीले यो बिषयमा जिज्ञासा राख्दा सकारात्मक उत्तर आयो । स्थानिय लक्ष्मिप्रसाद हाङ्सुरुम्वाले आफ्नो घर छेउमा रहेको ट्युवेल देखाउनुभयो । उहाँले भन्नुभयोः ‘यो ट्युवेलले हामिलाई धेरै फाईदा दिएको छ ।’ उहाँले आफ्नो आगन छेउमा नै करेवारी लगाउनुभएको थियो । साथै उहाँले हाईव्रेट जातको मकै पनि लगाउनुभएको थियो । करेसावारी र मकै तिर औल्याउदै उहाँले भन्नुभयोः ‘खडेरीको समयमा मैले त जन्मेदेखी अहिले सम्म हाम्रो ठाउँमा यस्तो हरियो कहिल्यौँ देखेको थिईन । पहिलो पटक खडेरीमा हामीले मकै लगाएका छौँ ।’
विशेष गरी पानीको चरम समस्या रहेको इलाको दक्षिणी चुलाचुली गाउँपालिकामा स्थानिय सरकार आए देखी ठूला, मझैला तथा साना लगानीमा दर्जनौँ खानेपानीका तथा सिंञ्चाईका आयोजना तथा योजनाहरु संञ्चालन भई रहेका छन् । कुनै योजना सम्पन्न भईसकेको छ, कुनै योजना सम्पन्न हुने चरणमा छ, साथै योजना थप गर्नुपर्ने स्थानमा योजनाको पहिचान भईरहेको छ ।