२२ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपको दोस्रो क्वार्टर फाइनल खेलमा आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ भिड्दैछन् ।
चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम (एनआरटी) ले सोझै क्वार्टर फाइनल खेल्न लागेको हो ।
लिग लिडर चर्च ब्वाइज र पछिल्लो समय लयमा रहेको एनआरटी क्लबबीचको खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ ।
एनआरटीलाई यो सिजनको झापा गोल्ड कपमा उपाधि दाबेदारका रुपमा हेरिएको छ ।
भर्खरै सम्पन्न केपी ओली कप फुटबल प्रतियोगितामा एनआरटी क्लब मछिन्द्र क्लबसँग फाइनलमा पराजित भएको थियो ।
त्यसअघि सोम्बार भएको पहिलो क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लबले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ।