१३ फागुन, ललितपुर । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ र रविन तामाङ तथा ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन श्रेष्ठ रहेका छन् ।
डाँगीको ललितपुरको इमाडोलस्थित घरमा गत फागुन ६ गते चोरी भएको थियो । घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमान चोरी भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसबारे अनुसन्धान गर्दै जाँदा अनुप र रविन चोरीमा संलग्न भएको र राजनले उनीहरूलाई सेल्टर दिएको खुलासा भएको थियो ।