१२ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन शुक्रबार धरान पुगेका मन्त्री किरातीले उक्त कुरा बताएका हुन् । राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन ढङ्गले अध्ययन भइरहेको उनको भनाई छ। प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उनले बताए ।
मन्त्री किरातीले भने, “जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाईमैदान बनाउनुपर्छ ।” उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रहसमेत गरे।
विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने जनाए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्डीराज ढकालले पछिल्लो समय व्यापार व्यवसाय धरासायी बनेकाले नीजि क्षेत्रलाई उकास्न राज्यले सहयोग गर्नुपर्ने जोड दिए।