२५ पौष, खोटाङ । दस स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ ।
केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा बढी जन्तेढुंगा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिए ।
जन्तेढुङ्गा –६ दिप्लुङबाट मात्रै यस वर्ष एक करोड रूपैयाँभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा जगत राईले दाबी गरेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा–५ चिसापानीस्थित घोर्ले भन्ने एउटै गाउँबाट एक करोड बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन् । उक्त वडाको वाचिपाला, खुुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ । जन्तेढुङ्गा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिए । जन्तेढुंगाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सुन्तलाखेती गर्ने रामबहादुर कुँवरको बगानमा यस वर्ष असिनाले क्षति पुर्याएकाले गत वर्षको तुलनामा आधामात्र उत्पादन भएको जनाइएको छ। कुँवरले गत वर्ष नौ लाख रुपैयाँको सुन्तला बेचेको बताएका थिए ।