
१६ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकामा बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार भएको बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि सोमबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै समितिले उक्त घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो ।
त्यस्तै बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिको थप व्यवस्था गर्न पनि निर्देशन दिएको छ भने मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्न निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । बैठकले साना कर्मचारीमात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल पनि नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित काम गर्न निर्देशन दिएको खतिवडाले बताए ।
त्यस्तै समिति बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन सजक रहन प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै सुरक्षा निकायलाई पर्याप्त आवश्यक स्रोत साधान उपलव्ध गराउन पनि समितिले निर्देशन दिएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७