१५ पुष, काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले संघीय निजामती ऐन, संघीय प्रहरी ऐन र शिक्षा ऐन चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निणर्य आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यी विधेयक कार्यान्वयनमा नल्याइँदा संघीयता कमजोर बनेको बताए ।
“संघीयता निजामती ऐन, प्रहरी ऐन, शिक्षा ऐन पारित गरी कार्यान्वयनमा ल्याएर संघीयतालाई बलियो बनाउन माग गर्ने निणर्य केन्द्रीय समिति बैठकले गरेको छ,” विश्वकर्माले भने, “यी विधेयकहरू कार्यान्वयनमा नल्याउँदा संघीयताको अभ्यास हुन सकेको छैन र नागरिकले पनि संघीयताको लाभ कसरी हुन्छ भन्ने अनुभव गर्न पाएका छैनन् ।”
कांग्रेसको निणर्यमा भने प्रदेश सरकारले पटक-पटक ध्यानाकर्षण गराउँदा समेत संघबाट अधिकार प्रत्यायोजन हुन नसकेको उल्लेख छ ।