बीआरटीसी ले नेपाल र भारतमा अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने

बीआरटीसी ले नेपाल र भारतमा अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने


१५ पुष, ढाका । बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने भएकाले धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो ।

बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम-कोलकाता, ढाका-गान्टोक (सिक्किम), बारिसाल-कोलकाता र ढाका-नेपाल रहेका छन् । डेली सनका अनुसार बीआरटीसीले सन् २०१८ मा नै ढाका-नेपाल रुटबारे सर्वेक्षण गरेको थियो । दुईवटा बसमा ८० जना प्रतिनिधि बोकेर परीक्षण यात्रा गरिएको थियो । तर, यसको सुरुवात भने हुन सकेको थिएन ।

त्यस्तै, चट्टोग्राम-कोलकाता रुट व्यावसायिक रूपमा सफल हुने सर्वेक्षणमा पाइएको छ । यसका लागि बीआरटीसीले रोर्ड ट्रान्सपोर्ट र ब्रिजेज मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । त्यहाँबाट उक्त प्रस्ताव अन्तिम निणर्यका लागि विदेश मन्त्रालय पुगिसकेको छ ।

ढाका-गान्टोक-दार्जिलिङ रुटका लागि पनि सन् २०१९ मा नै सर्वेक्षण र परीक्षण यात्रा सम्पन्न भइसकेको छ । यसका लागि दुवै देशको सहमतिको पर्खाइ रहेको छ । बारिसाल-कोलकाता रुटमा भने खासै प्रगति हुन सकेको छैन ।

‘ढाका-नेपाल बस रुटमा कुरा धेरै अघि बढेको छ । तर, यसका लागि केही समय लाग्नसक्छ । किनभने यहाँ तीनवटा देश संलग्न हुन्छन्,’ बीआरटीसीका अध्यक्ष एमडी ताजुल इस्लामले डेली सनसँग भने, ‘यहाँ भूराजनीतिक स्वार्थ पनि जोडिएको छ ।’

बंगलादेशले सन् १९९९ मा पहिलोपटक ढाका-कोलकाताको अन्तर्राष्ट्रिय बस सेवा सुरु गरेको थियो । हाल ढाका-कोलाकातासहित अगरताला-ढाका, ढाका-सिलोङ-गुवाहाटी र ढाका-खुल्ना-कोलाकता गरी चारवटा अन्तर्राष्ट्रिय रुटहरू रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर