८ पुष, इलाम । इलामको रोङ गाउँपालिकाको वडा नम्बर ५ मा हिजो शनिबार १६० वटा रेडियो वितरण गरिएको गाउपालिका अध्यक्ष मनिकुमार स्याङवोले जानकारी दिए । उनले गाउँपालिकाभरीका सम्पुणर् जेष्ठ सदस्यलाई रेडियो वितरण गरिने बताए। गाउँपालिकाले एक हजार १ सय रेडियो खरिद गरिएको उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिइन्। उनले ६ वटै वडाका जेष्ठ सदस्यलाई रेडियो वितरण गर्न शुरु गरेको बताइन्।
गाउँपालिकाले रेडियो वितरण कार्यक्रमलाई ‘चेतना वितरण’ भनेको छ । भौगोलिक रुपमा विकट रहेको सो ठाउँमा रेडियोको माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाईएको छ । गाउँपालिकामा युवाहरुले इन्टरनेटको माध्यमबाट सुचना लगायतका बिभिन्न जानकारी पाउने गरेका छन् । अध्यक्ष स्याङवोले भने-‘इन्टरनेट प्रयोग गर्न नसक्ने पुस्तालाई पनि सुचनामा पहुँच पुगोस भनेर हामीले रेडियो वितरण गरेका हौं, यति सानो कामले पनि धेरै आमाबाबुको अनुहारमा खुशी ल्याउन सकेकोमा हामी गौरव गर्दछौं ।’