८ पुष, इलाम । ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध हुन्छ, भन्दा पत्यार नलाग्न सक्छ । तर, इलामको एक स्थानीय तहले भने ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई दुई हजार रुपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । उनीहरुलाई नगरपालिकाले वार्षिक एकपटक पहिलो त्रैमासिकमा पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए ।
चालू आर्थिक वर्ष २०८०।०८१ मा देउमाई नगरभित्र स्थायी रुपमा बसोबास गर्ने एक हजार सात सय ५४ जना ज्येष्ठ नागरिकले पोसाक भत्ता पाएका छन् । उनीहरुले यस वर्ष मात्र ३५ लाख आठ हजार पोसाक भत्ता प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिए ।गएको आव २०७९।०८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकले ३१ लाख ५२ हजार पोसाक भत्ता पाएका थिए ।
ज्येष्ठ नागरिकहरुले वर्षमा एकपटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको नगर प्रमुख सूर्य पोख्रेलले बताए । ‘शिक्षक, राष्ट्रसेवक एवम् निजामति कर्मचारीलाई नेपाल सरकारले वर्षमा एकपटक पोसाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन,’ नगर प्रमुख पोख्रेलले भने, ‘ज्येष्ठ नागरिकलाई पनि चाडवाडमा नयाँ लुगा लगाउन मन लाग्छ । यसर्थ वर्षमा एकपटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरिएको हो ।’पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी भएको नागरिक हुनुपर्ने साथै ज्येष्ठ नागरिकको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ । देउमाई नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोसाक भत्ताका लागि चालू आवमा ३६ लाख विनियोजन गरेको थियो ।
दीर्घ रोगीलाई औषधि खर्च
यसैगरी देउमाई नगरपालिकाले दीर्घ रोगीलाई औषधि खर्चवापत वार्षिक रुपमा एकपटक पाँच हजार उपलब्ध गराउँदै आएको छ । देउमाई नगरपालिकाले गत वर्ष ४० जना दीर्घ रोगीलाई दुई लाख रुपैयाँ उपलब्ध गराएको थियो । चालू आवको पहिलो त्रैमासिकमा ११ जना दीर्घ रोगीले ५५ हजार प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिए ।