इलाममा बढ्यो अलैँचीको उत्पादन

इलाममा बढ्यो अलैँचीको उत्पादन


७ पुष, फिक्कल । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा अलैँची एक हजार तीन सय २० दशमलव पाँच मेट्रिकटन अलैँची उत्पादन भएको छ ।
गत आवमा एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँची खेती गरिएकामा एक हजार दुई १५ दशमलव २६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । अलैँचीको बगान घटे पनि कृषकले करेसाबारीमै रोप्न थालेपछि उत्पादन र उत्पादकत्व वृद्धि भएको हो । गत आवमा उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव ६९ रहेकामा चालु आवमा बढेर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले जानकारी गराए ।
यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिकरुपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेका छन् ।
अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती जिल्लाका १० वटै स्थानीय तहमा आंशिकरुपमा हुने गरेको छ । त्यसमध्ये माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती हुने गरेको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर