७ मंसिर, काठमाण्डौँ । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
गत आर्थिक वर्ष २०७९र८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
सबैभन्दा बढी आयकर तिरेर नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्मानित भएको छ । यस्तै सबैभन्दा धेरै निर्यात कारोबार गरेर डाबर नेपाल प्रालिलाई सम्मान गरिएको छ । त्यस्तै विषेश उद्योग कारोबारमा एसियन पेन्ट्स, कृषि एवम् पशुजन्य कारोबारमा ओबिसी फुड्स प्राली, सहकारी तथा लघुवित्त कारोबारमा छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक, बीमा तर्फ लाइफ इन्स्योरेन्स कर्पाेरेसन, स्वास्थ तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन तर्फ मनोकामना दर्शन प्रालि, वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदाता तर्फ नेपाल स्टक एक्सचेन्ज, ऊर्जा तर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तर्फ आईएमई लिमिटेड, व्यक्ति आय तर्फ विजयकुमार शाह सम्मनित भएका छन् ।
आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि दुई विधामा सम्मानित भएको छ ।