३ मंसिर, काठमाण्डौँ । भूकम्प प्रभावितहरूको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न नेकपा एमालेको स्वयंसेवक टोली काठमाडौंबाट कर्णालीतर्फ लागेको छ ।
कात्तिक १७ को जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घरबारविहीन नागरिकको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न आइतबार पार्टीको स्वयंसेवक दस्ता त्यसतर्फ प्रस्थान गरेको हो ।
केन्द्रीय सदस्य किरण पौडेल संयोजक रहेको टोलीलाई शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले निर्माण सामग्री हस्तान्तरण गरी बिदाई गरेका थिए । भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्णरूपमा क्षतिग्रस्त छन् । ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ ।
एमालेको स्वयंसेवक टोलीमा सबै प्रदेश र जनवर्गीय संगठनका गरी ११ सय जना छन् । एक टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरी फरक पालिकामा खटिने एमालेले जनाएको छ ।
४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पिडितहरुको पुनःस्थापना र घर टहरा पुननिर्माणमा सहयोग गर्ने पौडेलले बताए । टोलीले दुई साता काम गर्नेछ । पुनःस्थापना र पुननिर्माण नसकिए आवश्यकताअनुसार समय बढाएर सहयोग गर्ने पौडेलले जानकारी दिए ।