२३ कार्तिक, कास्की । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।
उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको थियो ।
व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदनउपर भएको बहसपछि न्यायाधिश भट्टराईले यस्तो आदेश दिएकी हुन् । आदेशमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू भनिएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले लामो समयदेखि पर्यटन व्यवसायीले उठाएको आवाजको सम्बोधन भएको प्रतिक्रिया दिनुभयो ।
रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले उच्च अदालतको आदेश व्यवसायी र पर्यटकमैत्री भएको बताए ।
यसैगरी होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अदालतको आदेशले व्यवसायीको मनोबल बढाएको बताए ।