१७ कार्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् ।
उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । तर, सुरूदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवम् माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो ।
सुरूमै देउवा र शेखरसँग सम्झौता गर्दा माओवादीको एकजनालाई मन्त्री बनाउने सहमति भएकोमा एमालेले एकजना छिराइहालेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए ।
क्याबिनेटमा गठबन्धनलाई भित्र्याएपछि सरकारबाट बाहिरिने एमालेले तयारी गरिसकेको छ ।
शेखर पक्षका केदार कार्की कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
उनलाई एमालेका ३९ सांसदले काँध थापेका थिए । मुख्यमन्त्री नियुक्त भएलगत्तै गठबन्धनले केदार नै साझा उम्मेदवनर भएको बताएको थियो । गठबन्धनका कांग्रेससँगै माओवादी, एस र जसपाले उनलाई विश्वासको मत भने दिएका थिए ।